काठमाडौं । कोशी नामांकन खारेजीको आन्दोलनप्रति आदिवासी जनजाति संघ, संगठनहरुले यही कात्तिक १८ गते इटहरीमा ऐक्यबद्धता सभा गर्ने भएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ संघीय सचिवालयसहित विभिन्न संघ, संगठनले सुनसरीको इटहरीमा ऐक्यबद्धता सभा गर्न लागेको नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले जानकारी दिनुभयो । उक्त दिन दिउँसो १ देखि सुरु हुने सभाको व्यवस्थापन भने नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नं १ समिति र जातीय संस्थाका प्रदेश, जिल्ला तथा इटहरी समितिहरुले गर्नेछन् ।
आयोजक संस्थाहरुमा नेपाल मगर संघ, केन्द्रीय समिति, नेपाल तामाङ घेदुङ सङ्घीय समिति, नेवाः देय दब केन्द्रीय समिति, नेपाल आदिवासी जनजाति महिला महासंघ, तमु ह्युल छोंज धिं केन्द्रीय समिति, नेपाल शेर्पा संघ केन्द्रीय समिति, थारु कल्याणकारिणी सभा केन्द्रीय समिति, सुनुवार सेवा समाज सङ्घीय समिति छन् ।
प्रदेश नं. १ लाई गरिएको कोशी प्रदेश नामाङ्कन खारेजी, ऐतिहासिक सभ्यतासहित पहिचानको आधारमा सबै प्रदेशको नामकरण, संविधानबमोजिम स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्र कायम गर्नुपर्ने, थारुलगायत आदिवासी जनजातिमाथि लगाइएका झुठ्ठा मुद्दा खारेज र सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षता र लोकतन्त्रमाथिको प्रहार बन्द गर्नुपर्ने, आदिवासी जनजातिमाथि गरिने हेपाहा अभिव्यक्ति तथा सबैखाले विभेदको अन्त गर्नुपर्नेलगायत माग आदिवासी जनजाति समुदायले राख्दै आएका छन् ।
प्रदेश नं १ मा जनभावनाविपरीत गणितको खेलमा प्रदेश नामाकरण गरिएको भन्दै पहिचान पक्षधर नागरिक निरन्तर आन्दोलनमा छन् ।