काठमाडौँ, ६ मङ्सिर : विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएको सिंहदरबारको मूल भवनको पश्चिमतर्फको भाग पुनः निर्माण सम्पन्न भएको छ । पुनः निर्माण सम्पन्न भएको सो भवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नयाँ कार्यालय स्थापना गरिएको छ । प्रधानमन्त्रीले आज सो कार्यालयको उद्घाटन गर्दै कार्यारम्भ गर्नुभयो ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो भागमा सरेको उल्लेख गर्दै प्रधानमन्त्रीले दाहालले भन्नुभयो, “यो खाली ठाउँ मात्र सारिएको होइन । कामको प्रकृति र गुण पनि नयाँ ढङ्गले जाने सङ्कल्प पनि यसभित्र रहेको मैले महसुस गरेको छु ।” एक सय २० वर्ष पुरानो यो भवनलाई त्यसको मूल संरचना जस्ताको तस्तै राखेर पुनःनिर्माण भएको छ । भूकम्पबाट क्षति भएको यस भवनको ‘रेट्रोफिटिङ’को काम पनि पूरा भएको छ ।
“हामी पछाडिबाट अगाडि आएका हौँ । मलाई अहिले भइरहेको ठाउँमा बस्दा अलि गुम्म लाग्नाका साथै त्यति ताजकी महसुस नभएजस्तो लाग्थ्यो,” प्रधानमन्त्रीले भन्नुभयो, “यो ठाउँमा आउँदा चाहिँ अलिकति सबैतिर हेर्न पाइने भएको छ । बरन्डामा पनि निस्केर हेर्न मिल्ने र फराकिलो सबै कारणले यहाँ दिमाग अलि बढी फुर्छ होला भन्ने मैले महसुस गरेको छु ।” प्रधानमन्त्रीले यो प्रक्रियामा सहयोग गर्ने सहरी विकास मन्त्रालय र पुनःनिर्माणमा सहयोग गर्ने टोलीलाई प्रधानमन्त्रीले धन्यवाद दिनुभयो ।
“नयाँ शुभारम्भ भएको छ । नयाँ शुभारम्भले नयाँ गति पकडिने छ र हामी सबैको एकता अझ बलियो हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु,” प्रधानमन्त्रीले भन्नुभयो । विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले सो भवन क्षति पुगेको थियो । त्यसलाई पुनःनिर्माण गरी गरिएको हो ।
सहरी विकासमन्त्री सीता गुरुङले नयाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रबलीकरण गर्ने काम पूरा भएको बताउनुभयो । उहाँले रु ४२ करोड हाराहारीमा प्रबलीकरण गर्ने काम सम्पन्न भएको जानकारी दिनुभयो ।