काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिका पनि सामाजिक सुरक्षा कोषमा आवद्ध भएको छ । छैठौं सामाजिक सुरक्षा दिवस– २०८० उद्घाटन समारोहमा अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई पालिकाको तर्फबाट सहयोग गर्नेगरी कोष सँग सोमबार काठमाडौंमा सम्झौता गरिएको हो ।
उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गाउँपालिका प्रमुख विमर्श मुक्तानलाई धन्यवाद सहित प्रशंसा पत्र– प्रदान गर्नु भएको थियो । सामाजिक सुरक्षा कोष भन्नाले सामाजिक सुरक्षा कोष अन्तर्गत सञ्चालन हुने एउटा कार्यक्रम हो । सञ्चय कोष जस्तै एउटा छुट्टै कोष, जसले आम श्रमिकहरूको जीवन सुनिश्चितताका लागि ल्याइएको कार्यक्रम हो, सामाजिक सुरक्षाको योजना हो ।
यस कोषमा औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गरिरहेका श्रमिकहरू आबद्ध हुन सक्छन् । मरिणले भने अनौपचारिक क्षेत्रका आम श्रमिक नागरिलाई आवद्ध गराउँने छ ।
गाउँपालिका अध्यक्ष मुक्तानले सामाजिक सुरक्षा योजना कार्यान्वयन भए पछि पालिका अनौपचारिक क्षेत्रका श्रमिक नागरिकलाई राहत मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
श्रमिकको हकहितको लागि भएको हुँदा पक्कै पनि कोषले भविष्यमा आवद्ध हुने सबैको लागि सकारात्मक काम गर्ने बताउँनुभयो । मरिण गाउँपालिकाले सुरक्षा कोषको बारेमा विधिविधान अध्ययन गरेर कार्यविधि बनाउने पनि अध्यक्ष मुक्तानले ग्लोबल मिडियालाई बताउँनुभयो ।
उमेर हुँदा काम काम गर्न सक्ने र बुढेसकालमा समस्या पर्दा धेरैको विचल्ली भएको हुँदा सामाजिक सुरक्षा कोष बुढेसकालको सहारा बन्ने अपेक्षा गरिएको छ । नेपालमा ७ सय ५३ स्थानीय तहमध्ये हालसम्म ७ वटा स्थानीय तह कोषमा आवद्ध भएका छन् । सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेमा मरिण वाग्मती प्रदेशको दोस्रो र सिन्धुलीको पहिलो स्थानीय तह हो ।
के हो सामाजिक सुरक्षा व्यवस्था
सामाजिक सुरक्षा कोषको स्थापना सामाजिक सुरक्षा (व्यवस्थापन कोष तथा सञ्चालन) नियमावली, २०६७ जारी भई सो बमोजिम २०६७ साल चैत्र ७ गते भएको हो । यस कोषले स्थापनाकाल देखि सामाजिक सुरक्षा करको व्यवस्थापन गर्दै आएकोमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भएपछि सो ऐन बमोजिम कार्य गर्दै आएको छ ।
ऐनको प्रस्तावनामा उल्लेखित श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्नु यस कोषका उद्देश्य रहेको जनाएको छ । सबै श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराई उनीहरुको आर्थिक तथा सामाजिक जोखिमको न्यूनीकरण गर्ने, सर्वव्यापी सामाजिक सुरक्षाको अवधारणालाई मूर्तरूप दिने तथा योगदानमा आधारित सामाजिक सुरक्षाको संवैधानिकहकलाई सुनिश्चित गर्ने दिशातर्फ कोषका कार्यक्रम लक्षित छन् ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन सक्ने ब्यवस्था गरिएको छ । जसले गर्दा कोषको कार्य क्षेत्रलाई व्यापक बनाएको छ । सोही ऐनको दफा १० मा औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना सञ्चालन गर्नेछ भनी कोषले सञ्चालन गर्न सक्ने सामाजिक सुरक्षा योजनाहरूको दायरा किटान गरिएको छ । ऐनमा उल्लेखित सामाजिक सुरक्षा योजना सञ्चालन गर्नका लागि सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ कार्यान्वयनमा आएको छ ।
कोषका फाइदाहरू
कोषले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउन रोजगारदाता तथा श्रमिकको सूचीकरण गर्ने, योगदान रकम संकलन गर्ने, कोषमा जम्मा भएको रकम परिचालन गर्ने, सुविधा योजनाहरूको दाबी भुक्तानी व्यवस्थापन गर्ने, कोषमा आबद्ध स्वास्थ्य संस्थाहरूको सञ्जाल विस्तार गरी गुणस्तरीय र प्रभावकारी स्वास्थ्य उपचार पद्धतिमा पहुँच स्थापित गर्ने जस्ता कार्यहरू गर्दैआएको छ । कोषले गर्ने कार्य सम्पादनलाई प्रविधिमैत्री बनाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाहमा जोड दिँदै आएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन कोषबाट हुने व्यवस्था गरिएको सन्दर्भमा यस कोष अन्तर्गतका सामाजिक सुरक्षा योजनालाई अर्थतन्त्रका औपचारिक क्षेत्रका अतिरिक्त अनौपचारिक तथा स्वरोजगार र वैदेशिक रोजगारीका क्षेत्रमा विस्तार गरी योगदानमा आधारित सामाजिक सुरक्षालाई व्यापक र प्रभावकारी बनाउदै यस प्रणालीलाई समतामूलक र समाजवादउन्मुख अर्थतन्त्रको एक संवाहकको रूपमा स्थापित गर्नको लागि कोष प्रतिबद्ध छ ।