नुवाकोट । नगरवासाीलाई सुविधाका लागि एम्बुलेन्स किन्ने नुवाकोट बेलकोटगढी नगरपालिकाका मेयर जगतबहादुर गुरुङको पहिलो निर्णय डेढ वर्षपछि कार्यान्वयनमा आएको छ ।
२०७९ जेठ अन्तिम साता बसेको नगर कार्यपालिका बैठकले तत्काल ७ वटा एम्बुलेन्स खरिद गर्ने निर्णयलाई मंगलबार कार्यान्वयनमा आएको हो । बेलकोटगढीले मंगलबारदेखि नगरभित्रका विभिन्न ३ स्वास्थ्य चौकीमा तीन वटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
५१ औं नगर कार्यपालिका बैठक तथा नवनिर्वाचित मेयर गुरुङको अध्यक्षमा बसेको पहिलो बैठकले तत्काल ७ वटा एम्बुलेन्स खरिदको निर्णय गरेको थियो ।
उहाँले निर्वाचनका बेला स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर काम गर्ने घोषणा गर्नुभएको थियो ।
नगरपालिकाका प्रमुख गुरुङले मंगलबार बेलकोटगढी ३ को कुमारी स्वास्थ्य चौकी, वडा नम्बर ६ दुई पिपल स्वास्थ्य चौकी र वडा नम्बर ११ को बेलकोट स्वास्थ्य चौकीलाई एक/एक वटा एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य पालिकाको विभिन्न शाखा प्रमुख, कर्मचारी लगायत सहभागी थिए ।
मेयर गुरुङले नगरले सञ्चालनमा ल्याएको एम्बुलेन्सले स्वास्थ्य चौकीको सिफारिसमा पूर्ण अपाङ्गता कार्ड भएका बिरामी र सुत्केरी महिलालाई निःशुल्क सेवा उपलब्ध गराउने बताउनुभयो । उहाँले अहिले भूगोलका हिसाबले पाएक पर्ने गरी एम्बुलेन्स खरिद गरिए पनि यसलाई थप गर्दै लगिने बताउनुभयो ।
नगरपालिकाले प्रतिएम्बुलेन्स १८ लाख ७५ हजार ७ सय १८ अठार रुपैयाँमा खरिद गरेको जनाएको छ । भन्सार महसुल, प्रज्ञापनपत्र शुल्क गरी कुल ५९ लाख ९८ हजार ५०० रुपैयाँमा तीन वटा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको हो ।