काठमाडौं । वैदेशिक रोजगारीको क्रममा युएई पुगेका तामाङहरुको छाता संगठन तामाङ समाज युएईले काठमाडौंमा शैक्षिक विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
शिक्षाको लागि समाज नामको कार्यक्रम सञ्चालन गर्दै आएका उक्त समाजले प्रत्येक वर्ष विभिन्न विद्यालयहरूलाई आर्थिक सहयोग गर्दै आउने क्रममा यस पटक काभ्रेको तेमाल गाउँपालिका वडा नं। ९ स्थित मैनाजाङ आधारभुत विद्यालयलाई नगद सहयोग प्रदान गरिएको हो ।
युएईमा संकलन गरेको रकममध्ये १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग काठमाडौंको बौद्ध स्थित एक होटलमा औपचारिक कार्यक्रमको बिच हस्तान्तरण गरिएको हो । प्रमुख अतिथि वाग्मती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं तामाङले सोही वडाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष लगायतका टिमलाई हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा तामाङ समुदायका जेहनदार विद्यार्थीहरू सोनाम तामाङ, परेन्द्र मोक्तान र विजयी घले सहित ३ जनालाई प्रतिव्यक्ति २० हजारको दरले नगद छात्रवृत्ति, उर्ग्येन फेल्ग्येन लिङ गोन्पालाई ५० हजार, नेपाल सरकारका पुर्व सचिव धन बहादुर तामाङ र गायिका इन्दिरा गोलेलाई २०,२० हजार नगद राशि सहितको सम्मान र सांस्कृतिक प्रस्तुति दिन युएई पुगेका कलाकारहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता तामाङ समाज युएईका अध्यक्ष जितेन्द्र गोले तामाङले गरेका थिए भने विशेष अतिथिहरूमा नेकपा एमालेका नेतृ नविना लामा, ताम्सालिङ संघर्ष समिति संयुक्त डा.गणेश योञ्जन, तामाङ समाज युएईका संस्थापक सदस्य तथा पूर्व अध्यक्षहरु राम मोक्तान, महेश मोक्तान लगायत विशिष्ट व्यक्तिहरू रहेका थिए ।
तामाङ समाज युएईले प्रत्येक वर्ष ४ वटा कार्यक्रम आयोजना गर्ने र त्यहाँबाट प्राप्त रकम तामाङ विद्यार्थी बाहुल्यता भएको विद्यालयहरूलाई आर्थिक सहयोग तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति दिने तामाङ समाज युएईका कार्यकारी अध्यक्ष भीम दोङले बताउँनुभयो ।
साथै तामाङ कलाकार संघले गर्ने सेलो साँझ कार्यक्रमको लागि उक्त समाजको तर्फबाट १ लाख नगद सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।