काठमाडौं । विभिन्न कार्यक्रम गरी तामाङ पत्रकार संघको २० औं स्थापना दिवस मनाइएको छ । काठमाडौं उपत्यकासहित संघ, प्रदेश, जिल्ला शाखाहरुले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएका हुन् । तामाङ पत्रकार संघको संघीय कार्यालयको आयोजना तथा भक्तपुर, ललितपुर र काठमाडौं शाखाको सह:आयोजनामा बौद्ध परिसरमा रक्तदान तथा स्व. दिपेन्द्र दोङ स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम संघका अध्यक्ष सुवास योञ्जनको अध्यक्षता र नेपाल तामाङ घेदुङका संघीय महासचिव जगतमान लामा (दोङ) को प्रमुख आतिथ्यमा भएको हो । सल्लाहकार समेत रहनुभएका महासचिव दोङले संघले तामाङ समुदायको हकहितमा काम गरिरहेकोमा प्रशंसा व्यक्त गर्दै निरन्तरता दिन आग्रह गर्नुभयो ।
पहिलो पटक आयोजित रक्तदान कार्यक्रम महत्वपूर्ण र सराहनीय भएको उहाँको भनाइ थियो । साथै संघको स्थापनामा महत्वपूर्ण भूमिका खेल्नुभएका स्व. दोङको नाममा पुरस्कार प्रदान गर्ने कार्यक्रम पनि ऐतिहासिक भएको उहाँले बताउनुभयो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्ननी लामाले स्व. दिपेन्द्र दोङले पत्रकारिता जगतमा पुर्याउनुभएको अतुलनीय योगदानको चर्चा गर्नुभयो ।
उहाँले तामाङ समुदायको मुद्दालाई समाचार माध्यमले उजागर गरेको पनि उल्लेख गर्नुभयो । कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा, श्री बौद्ध तामाङ कल्याण गूठीका पुर्वअध्यक्ष खड्गजित लामा,ओम तामाङ सुखदुःख गूठीका अध्यक्ष सुरज रुम्बा, गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नवराज लामा, स्व. दिपेन्द्र दोङकी धर्मपत्नी तथा कलाकार चाँदनी लामा, कलाकार जमुना योञ्जनलगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष बुद्ध योञ्जनले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सञ्चालन भने महासचिव तीर्थ बलले गर्नुभएको थियो । स्व. दिपेन्द्र दोङ स्मृति पुरस्कार सिवालाई कार्यक्रममा 'स्व. दिपेन्द्र दोङ स्मृति पुरस्कार' गोरखापत्र दैनिकमा कार्यरत पत्रकार सिवा तामाङलाई प्रदान गरिएको छ ।
सिवालाई ५ हजार रुपैयाँ राशि, सम्मानपत्रका साथ तामाङ घेदुङका महासचिव जगतमान दोङ र तामाङ पत्रकार संघका अध्यक्ष सुवास योञ्जनले पुरस्कार प्रदान गर्नुभयो । पत्रकार तामाङलाई स्व. दिपेन्द्र दोङको परिवारबाट पनि थप ५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।
पुरस्कृत तामाङ विगत १६ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । पुरस्कार वितरणका लागि संघका सल्लाहकार दोङको संयोजकमा ३ सदस्यीय समिति गठन गरिएको थियो । पुरस्कार छनोट समितिको निर्णयबारे सल्लाहकार तथा छनोट समितिकी सदस्य लक्ष्मी रुम्बाले बोल्नुभएको थियो ।
स्व. दोङको २०७९ चैत ११ गते निधन भएको थियो । उहाँ लामो समयदेखि नेपाली सञ्चार जगतमा सक्रिय, चलचित्र, गीत लेखन तथा निर्देशकसमेत हुनुहुन्थ्यो । स्व. दोङ पत्रकारिता पुरस्कार प्रत्येक वर्ष वितरण गरिने र आउँदो वर्षदेखि पुरस्कार राशि १० हजार बनाइने संघीय अध्यक्ष योञ्जनले घोषणना गर्नुभएको छ । कार्यक्रममा सहभागीलाई खाजाको व्यवस्थापन काठमाडौं महानगरपालिका वडा नम्बर ६ ले गरेको थियो ।
२० जनाबाट रक्तदान तामाङ पत्रकार संघको स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २० जनाले रगत दान गरेका छन् । रगत अभावले अकालमा ज्यान जाने घटनाहरू सुनिने गरेकोले त्यस्ता घटना कम होस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम राखिएको संघले जनाएको छ ।