नुवाकोट । काठमाडौंबाट नुवाकोटको पूर्वीभेग सिधा जोड्ने 'गुर्जेभन्ज्याङ-मानेभन्ज्याङ- दुप्चेश्वर सडक' शिलान्यास गरिएको छ । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले बिहीबार 'गुर्जेभन्ज्याङ-मानेभन्ज्याङ- दुप्चेश्वर सडक' अन्तर्गत महाकाली कुखुरे-मानेभन्ज्याङ-दुप्चेश्वर खण्ड शिलान्यास गर्नु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री दुलालले सडक निर्माणमा समयमै सम्पन्न हुनेमा विश्वस्त हुँदै सम्झौता अवधिभन्दा चाँडो काम सकेमा निर्माण व्यवसायी पुरस्कृत हुने बताउनुभयो । उहाँले वाग्मती प्रदेश सरकारबाट यसअघि लगाएका ठेक्काहरु पनि समयमै काम सकाउन पहल लिइरहेको बताउनुहुँदै काम नसकाए ठेक्का तोड्ने चेतावनी दिनुभयो ।
उहाँले सडक निर्माणमा गुणस्तर भएन भने कसैको मुख नहेरी कारबाही स्वरुप पुन: बनाउन लगाउनुपर्नेमा पूर्वाधार विकास कार्यालयको ध्यानाकर्षण गराउनुभयो ।
सोही निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य एवं निवर्तमान उपसभामुख राधिका तामाङले 'गुर्जेभन्ज्याङ-मानेभन्ज्याङ-दुप्चेश्वर सडक' चाँडो पूर्णता दिएर दुप्चेश्वर र शिवपुरी गाउँपालिकाका जनतालाई काठमाडौंसम्मको पहुँच सहज बनाउने आफ्नो लक्ष्य रहेको बताउनुभयो । आफ्नो पहलमा शिल्यान्यास कार्यक्रमसम्म आइपुगेकोमा खुसी व्यक्त गर्नुहुँदै उहाँले यसमा कुनै स्वार्थ नजोडिएको प्रस्ट पार्नुभयो ।
'गुर्जेभन्ज्याङ-मानेभन्ज्याङ-दुप्चेश्वर सडक' को दोस्रो खण्ड ८ किलोमिटेर शिलान्यास गरिएको उहाँको भनाइ छ । सडक निर्माण व्यवसायीले छिटो र छरितो रुपमा सकाउन ध्यानाकर्षण गराउँदै उहाँले गुणस्तरमा भने सम्झौता नगरिने बताउनुभयो ।
दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकरबहादुर थापाले सडक गुणस्तरीय बन्ने बताउनुभयो ।
बिहीबार शिलान्यास गरिएको खण्डमा ८.७६ किलोमिटर स्तरोन्नति हुनेछ । जसका लागि ४० करोड ४१ लाख २२ हजार ७५८ रुपैयाँमा पीआर कन्ट्रक्सन ललितपुरले निर्माणको जिम्मा लिएको छ । तर, चालु आर्थिक वर्षमा भने १२ करोड रकम विनियोजन गरिएको छ ।
हेर्नुहोस् विवरण
कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरी, शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्द्रप्रसाद थपलिया, दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकरबहादुर थापा, विभिन्न पालिका प्रमुख, उपप्रमुख, जिल्लास्थित सम्बन्धित सबै जिल्ला प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी र आम सरोकारवाला बुद्धिजीवी, समाजसेवीलगायतको उपस्थिति थियो ।
गुर्जेबाट समुन्द्रदेवीसम्मको ८ किलोमिटर भने यसअघि नै कालोपत्र भइसकेको छ । तर, सडक निर्माण भएको एकाध वर्षमै ठाउँ ठाउँमा भत्किएको भन्दै निर्माण व्यवसायीको आलोचना भइरहेको छ ।