नुवाकोट । दुप्चेश्वर मन्दिर परिसरमा लाग्ने मेलालाई मर्यादित तथा व्यवस्थित रुपमा सम्पन्न गर्नको लागि दुप्चेश्वर क्षेत्र विकास कोषको बैठक बसि विभिन्न समिति तथा उपसमिति गठन गरिएको छ । दुप्चेश्वरमा धान्य पूर्णिमाको अवसरमा पुष ७ गते देखि १० गते सम्म ४ दिन लाग्ने मेलालाई सफलता पूर्वक सम्पन्न गर्नको लागि विभिन्न समिति तथा उपसमिति गठन गरिएको प्रचार प्रसार संयोजक भूपेन्द्र केसीले जानकारी दिनुभयो ।
जसअन्तर्गत मेला व्यवस्थापनका लागि मूल समिति गठन गरिएको छ । वडा अध्यक्ष वीरबल तामाङको संयोजकत्वमा वडाध्यक्षहरू धु्रर्बकर केसी, किशोर आचार्य र मैत बहादुर तामाङ सदस्य रहनु भएको छ । यस्तै मेलामा सवारी साधन पार्किङ व्यवस्थापन समितिमा राज कुमार श्रेष्ठ संयोजक र वडा सदस्य सरिता पंडित सदस्य रहने गरि समिति गठन गरिएको छ ।
स्वयंसेवक व्यवस्थापनको संयोजकमा वडा अध्यक्ष बुद्धिमान तामाङ, प्रचारप्रसारको जिम्मेवारीमा भुपेन्द्र केसी संयोजक र राजकुमार श्रेष्ठ सदस्य रहेका छन् । मेलामा शौचालय तथा फोहोर मैला व्यवस्थापनको जिम्मा रिमठिम संरक्षण समाजलाई दिइएको छ भने सडक सरसफाइमा धर्मेन्द्र डंगोल संयोजक र रमेश तामाङ सदस्य रहनु भएको छ ।
यस्तै विद्युत (बत्ती) व्यवस्थापनमा विजय तामाङ संयोजक र रामशरण थापा सदस्य रहनु भएको छ । मेस व्यवस्थापनमा म्हेन्दो लामो वाइबा संयोजक, भेटी व्यवस्थापनमा वडा अध्यक्ष ज्ञान बहादुर तामाङ संयोजक राखिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखालाई मेलाको समय भर स्वास्थ्य क्षेत्रको जिम्मेवारी दिईएको छ ।
मेला व्यवस्थापनको लागि जिल्ला स्थिति विभिन्न मातहतका सुरक्षा निकायलाई जानकारी गर्नुका साथै पत्राचार गर्ने निर्णय गरिएको छ । साथै बैठकले दुप्चेश्वर मन्दिरको आफ्नै नामको वेबसाइट सार्वजनिक गर्ने तयारी भएको पनि प्रचारप्रचार संयोजक भुपेन्द्र केसीले बताउँनुभयो ।
विशेषगरी काठमाडौंबाट नुवाकोट भित्रने मुख्य नाकाहरुबाट चल्ने विभिन्न सवारी साधनहरूमा दुप्चेश्वर मन्दिरको प्रचारप्रसारको ब्यानर तथा निमन्त्रण पत्र टाँस्ने प्रक्रियामा रहेको जनाएको छ । तादी र दुप्चेश्वर देखि मन्दिर जाने मुख्य सडक मर्मत कार्य सम्पन्न हुनुका साथै हाल ब्यानर राख्ने र आवश्यक ठाउँमा विद्युत जडानको कार्य बाकि रहेको प्रचार प्रसार संयोजक केसीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार खानेपानी, शौचालय, पार्किङ लगायत बाकी रहेका कामहरू पुष १ गते सम्म पुरा गरिने जनाएको छ । दुप्चेश्वर मेलालाई थप मर्यादित सव्य बनाउनको लागि सम्पूर्ण सरोकारवाला निकायहरूलाई साथ र सहयोग गर्न अनुरोध गरिएको छ ।