नुवाकोट । नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरमा जारी मेलाको आज प्रमुख दिन, बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । मेलाको आज मुख्य दिन भएकोले बिहानैदेखि भक्तजनहरुको चाप रहेको प्रचारप्रसार संयोजक भूपेन्द्र केसीले जानकारी दिनुभयो । उहाँकाले आज अन्य दिनको तुलनामा भक्तजन व्यापक बढ्ने छ ।
धान्य पूर्णिमाको बेला लाग्ने ४ दिने मेला एकादशीबाट सुरु भई १० गते अर्थात् भोलि मंगलबार पूर्णिमाका दिन सम्पन्न हुनेछ ।
यस्तो छ मेला व्यवस्थापन
दर्शनार्थीको सहजता र सुरक्षाका लागि मेलास्थलमा बाक्लो मात्रामा सुरक्षाकर्मी खटाइएको छ । प्रचारप्रसा संयोजक केसीका अनुसार मेला सुरक्षाको लागि ६० जना नेपाल प्रहरी, ५ जना ट्राफिक प्रहरी, ११ जना सशस्त्र प्रहरी र ३५ जना क्षेत्र विकास कोषको स्वयंसेवक खटाइएको छ ।
भक्तजनहरुको लागि दुप्चेश्वर गाउँपालिकाको तर्फबाट स्वास्थ्य शिविरको पनि व्यवस्था गरिएको छ । दुई वटा एम्बुलेन्सको व्यवस्था गरिनुका साथै विकास कोषको हेल्थ डेक्स पनि राखिएको छ ।
ग्लोबल मिडियासँगको कुराकानीमा संयोजक केसीले भन्नुभयो “२५ वटा सीसी क्यामेराको व्यवस्था गरेका छौं, मेला हेर्न आउने भक्तजनहरुको सहजताको लागि हामीले मन्दिर प्रवेश गर्ने ३ किलोमिटर अघिदेखि नै बत्तीको पनि व्यवस्था गरेका छौं, विकास कोषका विभिन्न समिति र उपसमितिले सक्रिय रुपमा काम गरिरहेको छ ।” उहाँका अनुसार मन्दिर दर्शनमा बालबालिका, बृद्धबृद्धा, अपाङ्गता र महिलाहरुको लागि विशेष प्राथमिकता दिइएको छ । साथै मन्दिरको गतिविधिलाई प्रोजेक्टरमार्फत डिस्प्लेमा गराइएको छ भने भक्तजनहरुको सहजताको लागि प्रत्येक होटल तथा पसलमा मूल्यसूची टाँसिएको छ ।
मेलामा नुवाकोट, सिन्धुपाल्चोक, रसुवा, धादिङ, काठमाडौँ, गोरखा, मकवानपुर, चितवनलगायतका तीर्थालु पुग्ने गर्दछन ।
स्थानीय उत्पादनलाई प्राथमिकता
मेलामा दुप्चेश्वरमा उत्पादन गरिने हस्तकला सामग्री, भिर माहुरीको मह, चौरीको घिउ, छुर्पी, फाफर पिठोलगायतको स्टलहरु राखिएका छन् ।
दुप्चेश्वर मन्दिर दर्शन गरे सन्तान प्राप्ति हुने, बोली नफुट्ने बालबालिकाको बोली फुट्ने जनविश्वास छ । किवंदन्तीअनुसार स्थानीय बासे तामाङको गाई तादी नदी किनार छेउको भिरमा बच्चा जन्माएर भगवानलाई दूध चढाई बसेको थियो। त्यही स्थानमा स्थानीयले दुप्चेश्वर महादेव स्थापना गरे । र, मन्दिरमा दुई सय वर्षयता पूजाआजा गर्दै आएको जानकार बताउँछन ।
किवंदन्तीअनुसार समुद्र मन्थन गर्दा निस्किएको विष सेवनपछि छटपटाएका भगवान शिव पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा बास बसेर रसुवाको गोसाइँकुण्ड गएका थिए । त्यसैले दुप्चेश्वर महादेवलाई दोस्रो पशुपतिनाथका रूपमा पुजिने गरेका छन् ।