नुवाकोट । नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले रास्वपा सभापति रवि लामिछाने, राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र संघीय सांसद तोसिमा कार्कीको प्रस्तुति र कार्यशैलीप्रति चर्को आलोचना गर्नुभएको छ ।
शिवपुरि गाउँपालिका-८ स्थित राम्चेचौरमा आइतबार जनतासँग माओवादी विशेष रुपान्तरण अभियान तथा वनभोज कार्यक्रममा सम्बोधन गर्नुहुँदै वाग्मती प्रदेशसभा सदस्य पौडेलले लामिछाने, मिश्र र कार्कीहरु देशका गरिब र उत्पीडित जातिलाई बेबकुफ ठान्ने, गणतान्त्रिक व्यवस्थाविरुद्ध लागेकोमा आक्रोश पोख्नु भएको हो ।
'आज नयाँ पार्टी आएका छन् । मलाई केही कमाउनु छैन । मलाई केही गर्नु छैन । म त यत्ति पैसा भाको । कसलाई फुर्ती लाको यो देशमा आएर ?,' उहाँले भन्नुभयो, 'रवि लामिछाने १०, २० वर्ष अमेरिका बसे । २/३ वटा श्रीमती बिहे गर्ने । आफ्नो भोकविलास सबै सकाउने । अनि नेपाल फर्केर मलाई पुग्दो सम्पत्ति छ । केही गर्नु छैन भन्ने । यो देशमा हुर्केर जन्मेदेखि संघर्ष गरिराखेका मान्छेहरुलाई बेबकुफ भन्ने । पैसा नभएका सबै बेबकुफ हुन्छन् ? गरिबहरु सबै बेबकुफ हुन्छन् ? सामान्य भाँडामाझ्नेहरु भ्रष्टाचारी हुन्छन् । यी सब दलालहरु । जसले दलाली गरेर पैसा कमाउने जानेका छन् । सिकेका छन् । ती यी देशका राष्ट्रवादी । जो गरिब छन् । त्यसलाई हेपेका छन् । चेपेका छन् । अहिले पनि गरिब र पैसा नहुनेहरु भ्रष्टाचारी हुन्छन् भनेजसरी गफ दिएका छन् ।'
उहाँले रवीन्द्र मिश्रले पनि आफू टन्न कमाएर सोझा र गरिब जनता अघि बढ्ने व्यवस्थाविरुद्ध लागेको टिप्पणी गर्नुभयो । 'त्यो रवीन्द्र मिश्र भन्नेले त्यस्तै फूर्ति ला छन् । मलाई पुग्दो छ । मलाई यसो छ, त्यसो छ । देशमा राजनीति टन्न अघाएकाले मात्रै गर्ने हो ? यो देशमा गरिबले राजनीति गर्न पाउँदैनन् । गरिबले राष्ट्रपति हुन पाउँदैन । यी चिजको बारेमा उनीहरु बहस गर्न चाहँदैनन्,' अध्यक्ष पौडेलको भनाइ थियो ।
यस्तै रास्वपाकी सांसद तोसिमा कार्कीले माओवादी जनयुद्ध र क्रान्तिलाई नै अवहेलना गर्ने काम गरेको भन्नुहुँदै उहाँले रोष प्रकट गर्नुभयो ।
'रोजगारीका लागि विदेश जाने प्रक्रियामा रहेका दुई युवाको निधनमा मलाई दु:ख छ । तर यो देशको परिवर्तनका लागि दु:ख गर्ने पार्टीलाई । नेतालाई, क्रान्तिलाई अवहेलना गरेर चुनाव जितेकी एउटी सांसद हिजो एउटा बुख्याँचा जसरी पोस्टर टाँसेर १७ हजार प्लस २ लेखेर सडकमा उभिएछन् । त्यस्ता बुद्धि कसले दिन्छन् के ! के खाएर त्यस्तो बुद्धि आउँछ ? यस्ता बुद्धिवाला मान्छेहरुले चुनाव जितेर के नयाँ गर्नु ? नयाँ गर्नु नि !' उहाँले भन्नुभयो ।