नुवाकोट । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद हितबहादुर तामाङले ठूलो बलिदान र त्यागबाट प्राप्त राजनीतिक उपलब्धि सामान्य आन्दोलनले नउल्टिन बताउनुभएको छ ।
जनतासँग माओवादी विशेष रुपान्तरण अभियान समापनका लागि माओवादी केन्द्र ककनी गाउँपालिका समितिले सोमबार आयोजना गरेको सभामा बोल्नुहुँदै सांसद तामाङले एकाध मान्छेले भन्दैमा, चाहँदैमा संघीयता, गणतन्त्र नउल्टिने बताउनुभएको हो । 'परिवर्तनका निम्ति कति त्याग र बलिदान गर्नुपर्छ । कति मूल्य चुकाउनुपर्छ भन्ने हामीलाई थाहा छ । इतिहासमा हामीले ती प्रक्रिया सबै पार गरेर आएका हौं । यहाँ एकाध मान्छेले भन्दैमा, चाहँदैमा केही हुँदैन,' उहाँले भन्नुभयो, 'एक/दुई दिनपछि दुर्गा प्रसाईंहरुको बल्खुको आन्दोलन चकनाचुर भयो । आज कुन दुलोमा बसेर दाउ र षड्यन्त्र बुनिरहेका छन् । हामीलाई थाहा छैन ।'
कतिबेला नेपाली जनता अराजक बन्ने र विवेक गुमाउने गरे पनि खासखास बेलामा भने सही निर्णय हुने गरेको उहाँले उल्लेख गर्नुभयो । 'खास खास बेलामा नेपाली जनताले निर्वाह गर्नुपर्ने भूमिकाबाट चुकेका छैनन् । त्यो २०४६ सालमा पनि देखाएका थिए । २०६२/०६३ मा पनि नेपाली जनताले देखाएका थिए । संविधान निर्माणका बेला पनि नेपाली जनताले भूमिका निर्वाह गरेका थिए,' पूर्वमन्त्री तामाङले भन्नुभयो, 'आज पनि संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प निरंकुश राजतन्त्र हुन सक्दैन ।'
पूर्वमन्त्री तामाङले माओवादीको त्यागलाई, बलिदानलाई, त्यसको आधारमा प्राप्त भएको नयाँ संविधान सँगैको राजनीतिक उपलब्धिलाई उल्ट्याउने हिसाबका षड्यन्त्रलाई चिर्न जरुरी रहेकोमा जोड दिनुभयो ।
'तपाईंहरुले देख्नुभयो, एक जना दुर्गा प्रसाईं । जसको न कुनै संगठन छ, न पार्टी छ । विगतमा न उनले राजनीतिक, सामाजिक क्षेत्रमा कुनै काम गरेर देखाएको छ । वर्तमानमा कुनै भूमिकामा बसेर जनताको पक्षमा काम गरेका मान्छे पनि होइन । भविष्यमा पनि केही गर्न सक्ने सम्भावनाका मान्छे पनि होइन,' उहाँले भन्नुभयो, 'तर उनलाई तुरुपको रुपमा प्रयोग गर्ने, नाटकको रिहर्सल गर्ने गरी आफूहरु पर्दा पछाडि बसेर यो मुलुकमा राजतन्त्र फर्काउन चाहनेहरु, गणतन्त्र उल्याउन चाहनेहरु, समावेशी लोकतन्त्रलाई उल्ट्याएर एकात्मक र केन्द्रीकृत शासन व्यवस्था लाद्न चाहनेहरु आज भएभरका शक्तिहरु लगाएर बल्खु क्षेत्रमा ताण्डवनृत्य देखाउन आएका थिए । उनीहरुले केहीदिनभित्र राजा ज्ञानेन्द्र सिंहासनमा फर्किने भनिरहेका थिए । त्यो सम्भव थिएन, दुई दिनमै आन्दोलन चकनाचुर भयो ।'