सिन्धुली। सिन्धुलीमा रहेको भगवती माविले ४६ घर परिवार मुसहरलाई न्यानो कपडा वितरण गरेको छ ।
अत्याधिक चिसो बढ्दा न्यानो कपडाको अभावमा कठ्यांग्रीएर रात काट्न बाध्य सिन्धुलीको दुधौली नगरपालिका ४ डकाहका विपन्न ४६ घरधुरी मुसहरलाई विद्यालयले फाइबर सिरक र डस्ना सहयोग गरेको हो ।
जिल्लामा रहेको भगवती अंग्रेजी आवासिय माविले शुक्रबार विपन्न दलित समुदायको मुसहरहरुलाई घरमै पुगेर फाइबरको सिरक र डस्ना सहयोग गरेको विद्यालयका प्रिन्सिपल कृष्ण कुमार उप्रेतीले जानकारी दिए ।
अत्याधिक चिसो बढ्दै गएपछि मुसहर समुदायका बृद्ध तथा बालबालिकाहरु विरामी पर्न थालेको जानकारी भगवती माविका अध्यक्ष संजय दाहाल, प्रिन्सिपल कृष्ण उप्रेती, आर्थिक प्रशासन प्रमुख रमाकान्त सुवेधी विद्यालयका फाउण्डर गोपाल पौडेल लगायतले मुसहरको घरघरमै पुगेर फाइबरको सिरक र डस्ना वितरण गरेका हुन् ।
जाडोका कारण मुसहरहरु गुइठा बालेर र जागग्राम बसेर रात काट्न बाध्य थिए । न्यानो कपडा वितरण पछि मुसहरहरुका ४६ घरका २ सय ३० जनालाई राहात पुग्ने विश्वास गरिएको छ ।
‘मुसहर परिवारका बालबालिका तथा बृद्ध बृद्धाहरु चिसोका कारण विरामी पर्न थालेको र घरमा उढ्ने ओछ्याउने कपडाको अभाव भएको स्थानीय समाजसेवी बेदराज दाहालले जानकारी गराएपछी विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्व ठानेर २ लाख ५० हजार बराबरको सिरक डस्ना खरिद गरेर वितरण गरिएको हो,’ उनले भने ।
नागरीकहरु चिसोले कठ्यांग्रीए पनि सरकारको ध्यान पुग्न नसकेको बेला भगवती माविले मुहसर बस्तीमै पुगेर न्यानो कपडा वितरण गरेर सहयोग पु¥याएको स्थानीय तथा संविधान सभा सदस्य विषमलाल अधिकारी दनुवारले बताए ।
मुसहरहरु दलित समुदायकै अति पिछडीएको समुदाय हो । दैनिक अर्काको मजबुरी गरेर परिवार पाल्दै आएका मुसहरहरु न्यानो कपडा पाएपछि खुसी भएका छन ।
भगवती माविले विगत ३० वर्षदेखि हरेक वर्ष सामाजीक कार्यमा समेत सहभागती जनाउँदै आएको छ । विद्यालयले यस अघि देखिनै द्धन्द्ध पिडित तथा अनाथ बालबालिकाहरुलाई निशुल्क पठनपाठन गराउनुका साथै बाढीपिडित, आगलागी पिडीतका साथै सामुदायिक विद्यालयका विपन्न बालबालिकाहरुलाई समेत सहयोग गर्दै आएको विद्यालयका अध्यक्ष संजय कुमार दाहालले बताए ।