काठमाडौं । नाटक ‘मासिन्या’ तामाङ समुदायलाई राज्यसत्ताले गरिरहेको विभेद विरुद्धको सिर्जनात्मक हस्तक्षेप रहेको जनाएको छ । मंगलबार गरिएको पत्रकार भेटघाट कार्यक्रममा आयोजकले यस्तो जनाएको हो । पत्रकार सम्मेलनमा ताम्सालिङ संघर्ष समितिका अध्यक्ष गणेश योञ्जनले नेपाली समाज बहुजाति, बहुधार्मिक हुँदाहुँदै पनि धेरै विभेद भइरहेको दुखेसो पोख्नुभयो ।
अध्यक्ष योञ्जनले भगवती पाण्डेको उदाहरण दिदै भन्नुभयो “पाण्डेले तामाङ र मगर समुदायमाथि लगाएको आरोपको विषयमा प्रहरीले कुनै पनि कारवाही गरेन, उल्टो पक्राउ गरिएको चेलीबेटी र युवाहरूलाई निर्ममता पूर्वक पिटियो , यो राज्य कति विभेदकारी छ भन्ने यो एउटा उदाहरण हो” । तामाङ लगायत अरु आदिवासी समुदायमाथिको विभेद अझै कायम भएको हुँदा कलाको माध्यम मार्फत समाजमा प्रस्तुत गर्ने जमर्को गरिएको बताउँनुभयो ।
साथै उहाँले तीनै जना लेखक र निर्देशकहरू स्थापित व्यक्तित्व भएको हुँदा कसै माथि पनि विभेद नहोस् भन्ने सन्देश नाटक ‘मासिन्या’ मार्फत दिन खोजिएको स्पष्ट पार्नुभयो ।
यस्तै पत्रकार भेटघाटमा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले तामाङ समुदायलाई मासिन्या मतुवालीमा सूचिकृत गरेर गरिएको विभेद पछाडिको अवस्थालाई नाटकमा समेटिएको बताउँनुभयो ।
मुलुकमा सङ्घीयता, गणतन्त्र, लोकतन्त्र, यावत परिवर्तनहरू भएपछि एक अर्काको पीडा सेयरिङ गरेर पनि समाज रूपान्तरण गर्न सकिने भन्दै सिर्जनात्मक हस्तक्षेपको लागि ‘मासिन्या’ तयार गरिएको अध्यक्ष गोलेको भनाई छ ।
नाटक माघ ११ देखि २८ गते सम्म काठमाडौंको थापागाउँस्थित मण्डला नाटकघरमा सोमबार बाहेक हरेक दिन साँझ ५ बजे र शनिबार १ बजे पनि मञ्चन हुने जनाएको छ ।
नाटक लक्ष्मी रुम्बा, राजु स्याङ्तान र रावतले लेख्नु भएको छ । लेखक स्याङ्तान र रुम्बाले तामाङ समुदाय माथिको विभेद अझै सम्म पनि कायम रहेको भन्दै सून्दर तामाङ समुदाय मासिनुको कारणबारे नाटकको माध्यम मार्फत उठान गरिएको बताउँनुभयो ।
समुदायभित्र गढेर बसेको पीडालाई नाटकका रूपमा समुहको पहिलो प्रयास भएको बताउँदै लेखक रुम्बाले तामाङको मात्र नभएर नाटकले समग्र राज्य प्रणालीको विभेदमा पिल्सिएका सीमान्तीकृत समुदायको कथा व्यक्त गर्ने बताउँनुभयो ।
‘मासिन्या’ ले जङ्गबहादुरको समयदेखि अहिले सम्म सुन्दर तामाङ बस्ती कसरी रित्तिदै गएको छ भन्ने कथा उजागर गरिएको लेखकको भनाई छ । नाटक परिकल्पना तथा निर्देशन बुद्धि तामाङ र सोनाम लामाले गरिरहनु भएको छ भने रमिला मोक्तान, विष्णु मोक्तान, रविन दोङ, सुनिल तामाङ, रोहनी लामा, शीतल थोकर, रुपेश तामाङ, इंगिहोपो कोइँच सुनुवार लगायत १७ जना कलाकारहरूको अभिनय रहेको छ । काठमाडौंमा मञ्चन गरिए पछि देशको विभिन्न प्रदेशको शहरहरूमा पनि नाटक मञ्चन गरिने आयोजकको भनाई छ ।