काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत सत्ता गठबन्धनबाट १८ जना र एमालेका १ मात्रै उम्मेदवार निर्वाचित भएका छन् ।
बिहीबार विभिन्न प्रदेशमा भएको निर्वाचनअन्तर्गतको मतपरिणामअनुसार कोशीमा एमालेकी रुक्मिणी कोइरालाबाहेक सबै गठबन्धनका उम्मेदवार विजयी भएका निर्वाचन कार्यालयले जनाएको छ ।
प्राप्त विवरणअनुसार वाग्मतीमा कांग्रेसकी बिष्णुदेवी पुडासैनी, जीतजंग बस्नेत, माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी छन् ।
कर्णालीमा एकीकृत समाजवादीका सावित्री मल्ल, माओवादी केन्द्रका विष्णु विक र कांग्रेसका कृष्णबहादुर रोकाय विजयी भएका छन् ।
कोशीमा कांग्रेसका कृष्ण सिटौला, एमालेकी कोइराला विजयी हुँदा लुम्बिनी प्रदेशबाट माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र कांग्रेसकी विष्णुकुमारी सापकोटा विजयी भएका छन् ।
मधेश प्रदेशको दुई सिटमा गठबन्धनतर्फबाट कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका छन् ।
यस्तै गण्डकी प्रदेशबाट गठबन्धन उम्मेदवार कांग्रेसका किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार र माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएका हुन् ।
सुदूरपश्चिममा माओवादी केन्द्रकी रेनु चन्द, कांग्रेसका नारायणदत्त भट्ट र कांग्रेसकै बलदेव बोहरा विजयी बनेका छन् ।