नुवाकोट । पञ्चकन्या जनकल्याण युवा समाजले आगामी फागुन ५ गते नुवाकोटको पञ्चकन्या गाउँपालिकास्थित घ्याङस्वाँरामा जिल्लाव्यापी क्रसकन्ट्री दौड प्रतियोगिता गर्ने भएको छ ।
युवा समाजले मंगलबार एक विज्ञप्ति जारी गर्दै खुलातर्फ पुरुष र महिला ११ किलोमिटर तथा छात्रछात्रातर्फ ५ किमि दौड प्रतियोगिता हुने जनाएको छ । त्यसका लागि खेलाडीले माघ अन्तिमसम्म नाम दर्ता गर्न पाउने कार्यक्रम संयोजक रामहरि भण्डारीले बताउनुभयो ।
पञ्चकन्या गाउँपालिकाको कार्यालय लाकुरीभन्ज्याङबाट सुरू हुने दौड ‘घ्याङस्वाँरा सहिद स्मारक पर्यटकीय पार्क’ पुगी सोही रूट घलेभन्ज्याङ फिर्ता हुने जनाइएको छ । आयोजकका अनुसार खुला दौडतर्फ पुरुष र महिला दुवैका विजेता प्रथमले २२ हजार, दोस्रोले १६ हजार, तेस्रोले १० हजार, चौथोले ५ हजार र पाँचौंले ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, ५ किमि दुरीको छात्रछात्रा दौडतर्फ प्रथम हुनेलाई ११ हजार, दोस्रोलाई ७ हजार, तेस्रोलाई ४ हजार, चौथोलाई २ हजार र पाँचौंलाई १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ । प्रतियोगिता संघीय सांसद तथा पूर्वमन्त्री हितबहादुर तामाङले उद्घाटन गर्नुहुने छ ।
प्रतियोगिताका सहभागीलाई प्रेरित गर्न तीनपटकका दक्षिण एसियाली स्वर्ण पदक विजेता तथा नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको सहभागिता रहने जनाइएको छ । आयोजक संस्थाले धावक मानन्धरलाई नगदसहित सम्मानसमेत गर्ने जनाएको छ ।
एथलेटिक्स परिवार नेपालको प्राविधिक सहयोगमा हुने प्रतियोगितामार्फत गाउँपालिका क्षेत्रमा पर्यटन प्रवर्द्धन हुने र खेलकुदप्रति युवापुस्ताको आकर्षण बढ्ने आयोजकको अपेक्षा छ । स्थापनाकालदेखि नै विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय पञ्चकन्या जनकल्याण युवा समाजले जिल्लास्तरीय दौडलाई आगामी दिनमा राष्ट्रियस्तरमा लैजाने लक्ष्य लिएको बताएको छ ।