नुवाकोट । पञ्चकन्या जनकल्याण युवा समाजले आयोजना गरेको 'पञ्चकन्या जिल्लाव्यापी क्रसकन्ट्री दौड प्रतियोगिता-२०८०' को खेलाडी दर्ता म्याद तीन दिन थप भएको छ ।
सोमबार साँझ युवा समाजको कार्यसमिति बैठकले केही इच्छुक र विद्यालयहरुको आग्रहअनुसार फागुन ३ गते दिउँसो ३ बजेसम्म समय थप गर्ने निर्णय गरिएको कार्यक्रम संयोजक तथा कोषाध्यक्ष रामहरि भण्डारीले जानकारी दिनुभयो । यसअघि माघ १६ गतेदेखि मसान्तसम्म खेलाडी दर्ताका लागि समय दिइएको थियो ।
खेलप्रति चासो राख्ने स्थानीय र जिल्लाका व्यक्तिहरु नछुटुन् भनेर दर्ता म्याद बढाइएको संयोजक भण्डारीले प्रस्ट पार्नुभयो । दुवै क्याटगोरीतर्फ सोमबारमसम्म ५९ जनाले दर्ता गरिसकेको उहाँले जानकारी दिनुभयो ।
दौड प्रतियोगिता फागुन ५ गते पञ्चकन्या गाउँपालिकाको वडा नम्बर ३ र ४ मा हुनेछ । युवा समाजका अुनसार खुलातर्फ पुरुष र महिला ११ किलोमिटर तथा छात्रछात्रातर्फ ५ किमि दौड प्रतियोगिता हुनेछ ।
पञ्चकन्या गाउँपालिकाको कार्यालय लाकुरीभन्ज्याङबाट सुरू हुने दौड ‘घ्याङस्वाँरा सहिद स्मारक पर्यटकीय पार्क’ पुगी सोही रूट घलेभन्ज्याङ फिर्ता हुने जनाइएको छ । आयोजकका अनुसार खुला दौडतर्फ पुरुष र महिला दुवैका विजेता प्रथमले २२ हजार, दोस्रोले १६ हजार, तेस्रोले १० हजार, चौथोले ५ हजार र पाँचौंले ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
त्यस्तै, ५ किमि दुरीको छात्रछात्रा दौडतर्फ प्रथम हुनेलाई ११ हजार, दोस्रोलाई ७ हजार, तेस्रोलाई ४ हजार, चौथोलाई २ हजार र पाँचौंलाई १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ ।
प्रतियोगिता संघीय सांसद तथा पूर्वमन्त्री हितबहादुर तामाङले उद्घाटन गर्नुहुने छ । प्रतियोगिताका सहभागीलाई प्रेरित गर्न तीनपटकका दक्षिण एसियाली स्वर्ण पदक विजेता तथा नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको सहभागिता रहने जनाइएको छ । आयोजक संस्थाले धावक मानन्धरलाई नगदसहित सम्मानसमेत गर्ने जनाएको छ ।
एथलेटिक्स परिवार नेपालको प्राविधिक सहयोगमा हुने प्रतियोगितामार्फत गाउँपालिका क्षेत्रमा पर्यटन प्रवर्द्धन हुने र खेलकुदप्रति युवापुस्ताको आकर्षण बढ्ने आयोजकको अपेक्षा छ ।
स्थापनाकालदेखि नै विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय पञ्चकन्या जनकल्याण युवा समाजले जिल्लास्तरीय दौडलाई आगामी दिनमा राष्ट्रियस्तरमा लैजाने लक्ष्य लिएको बताएको छ ।