धरान । सोनाम ल्होछार, ग्याल्पो लोसार र ज्यालो लोसारको अवसरमा नेपाली कांग्रेसले सांस्कृतिक कार्यक्रम सहित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गरेको छ । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, सुनसरीले क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा तथा प्रदेश स्वास्थ्यमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिपकुमार सुनुवारको प्रमुख आतिथ्यतामा सोनामा ल्होछार–२८६०, ग्याल्पो लोसार–२१५१ तथा ज्यालो लोसार–२८६० को अवसरमा धरानमा कार्यक्रम गरेको हो ।
क्षेत्रीय सभापति तामाङले हाम्रो देश बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय भएको र नेपाली कांग्रेसको नेतृत्वमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान, २०७२ ले यो विविधतालाई अपनत्व गरेको तथा पाटीमा समेत सबै जाति र धर्म समुदायका सदस्य रहेको भन्दै हरेक जातजाति, भाषाभाषी र धर्मावलम्वीहरूको मौलिक एवम् परम्परागत सांस्कृतिक एवम् धार्मिक चाडपर्वहरूलाई दशैँ र तिहार जस्तै मनाउने संस्कृति र परम्परा सुरुवात गरेर नेपाली कांग्रेसले सबैको संस्कार, संस्कृति र धर्मलाई सम्मान गरेको बताए । उनले यो कुनै राजनीति गरेको नभई कर्तव्य पूरा गरेको बताउनुभयो ।
कार्यक्रममा तामाङ, शेर्पा र शिङ्सावा भोटे जातिको विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि मन्त्री सुनुवारले विभिन्न जातजातिको मौलिक पर्वहरुका अवसरमा शुभकामना आदानप्रदान, सांस्कृतिक र चियापान जस्ता कार्यक्रम गरेर सुनसरी १ नं. क्षेत्रीय कार्यसमितिले सामाजिक सद्भाव वृद्धि गरेको बताउनुभयो । उहाँले पहिचानका लागि संघर्षरत पक्षसँग सकारात्मक रुपमा वार्ता अघि बढेको भन्दै नेपाली कांग्रेस सदैव हरेक समुदायको ऐतिहासिक पहिचानका पक्षमा रहेको बताउनुभयो ।
नेपाली कांग्रेसका प्रदेश महामन्त्री उमेश थापाले जितिया, क्रिसमस, उँधौली, चासोक तङ्नाममा, साकेला, साकेवा, भुजेली पर्व, माघी, सार ल्हेस मनाउँदै फेरी सोनाम ल्होछार, ग्याल्पो लोसार र ज्यालो लोसार पनि भव्य रूपले मनाएर क्षेत्रीय समितिले प्रशंसनीय कार्य गरेको बताउनुभयो । जिल्ला सचिव माधव घिसिङले हरेक जातजाति र समुदायको महत्वपूर्ण पर्वहरूको अवसरमा गर्ने यस्ता कार्यक्रमले कांग्रेसलाई समुदायसँग जोडेको बताउँदै पाटीका मन्त्रीहरूले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
नेपाल तामाङ घेदुङका प्रदेश अध्यक्ष रेखबहादुर घिसिङले राजनीतिक पाटीले यसरी आफ्नो सोनाम ल्होछार पर्व मनाएको पहिलो भएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले पाटीले बल्ल जातजाति समुदायको मौलिक चाडपर्व मनाउन थालेकोमा प्रशंसा गर्दै हिजोसम्म बिपीको समाजवादमा जितिया, क्रिसमस, उँधौली, चासोक तङ्नाम, साकेला, साकेवा, भुजेली पर्व, माघी, सार ल्हेस, सोनाम ल्होछार, ग्याल्पो लोसार, ज्यालो लोसार, कोशी पूजा, यमरी पून्हे, कर्मा पूजा जस्ता नेपालको माटोमा सिर्जना भएका यी पर्वहरु परेको थिएन र ? भनि प्रश्न गर्दै सबैको पहिचानले राज्यमा स्थान पाउनुपर्ने बताउनुभयो ।
शिङ्सा कल्याण केन्द्रका जिल्ला अध्यक्ष निमा पोङ्सुवाले नेपाली कांग्रेसले हरेक समुदायको चाडपर्व मनाएर साँच्चिकै लोकतान्त्रिक पाटी भएको पुष्टि गरेको बताउनुभयो । उहाँले विगतमा राष्ट्रपति र प्रधानमन्त्रीबाट एउटा शुभकामना समेत नदिने गरेको तितो इतिहास सम्झदै आफ्नो जाति भित्रमात्र मनाउँदै आएकोमा अहिले आएर कांग्रेस पाटीले नै भव्य रूपले मनाई दिएकोमा हर्षित भएको बताउनुभयो ।
नेपाल शेर्पा संघका नगर सदस्य मिङ्मा शेर्पाले राजनीतिक पार्टी स्तरबाट आफ्नो समुदायलाई समेत बोलाएर आफ्नो ग्याल्पो लोसार मनाएकोमा कांग्रेसलाई धन्यवाद दिंदै शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रदेश सांसद ममता तामाङ, पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बा, पूर्व नगर प्रमुख तिलक राई, राष्ट्रियसभा सदस्यका प्रत्यासी मिना पुलामी, प्रदेश सदस्य लवराज अधिकारी, नगर सभापति श्याम पोखरेल, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यद्वय दोर्जी शेर्पा र संगीता वाहित, नेपाल तरुण दलका केन्द्रीय सदस्य प्रेम राई, नेपाल तामाङ घेदुङका जिल्ल सचिव मङ्गलसिंह मोक्तान, नगर अध्यक्ष सपन योञ्जन, नेपाल तामाङ महिला घेदुङका जिल्ला अध्यक्ष विष्णु मोक्तान, नगर अध्यक्ष गोमा गोले, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि चित्रकुमारी र ललिता अधिकारी शर्मा, जिल्ला सदस्यहरू अनुपमा सुनुवार, प्रदिप बस्नेत, रत्न रिमाल, वडा अध्यक्ष नरेन्द्रकुमार राई (प्रविन) र यज्ञमणि आचार्य, नेपाल दलित संघका प्रदेश सभापति गोविन्द दर्नाल, प्रदेश १(१) का कोषाध्यक्ष रविना सुब्बा गुरुङ, सहसचिव रमिता श्रेष्ठ, तामाङ एशोसिएसन धरानका अध्यक्ष सिताराम वल, ओखलढुङ्गे सेवा समाजका अध्यक्ष दिलबहादुर गोले लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको व्यवस्थापन तथा समन्वय क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, क्षेत्रीय सदस्यहरू श्याम सुब्बा, शिखा चेम्जोङ, कमला श्रेष्ठ र लोकमणि शर्माले गरेका थिए भने सञ्चालन क्षेत्रीय सचिव महेन्द्र प्रधान र क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले गरेका थिए ।