घलेभन्ज्याङ । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले 'प्राइमरी लेभल'का प्रधानाध्यापक र 'डिग्री होल्डर' चाहिँ शिक्षक हुँदा शिक्षाको गुणस्तर अभिवृद्धि हुन नसकेको टिप्पणी गर्नुभएको छ ।
पञ्चकन्या ४ थप्रेकमा रहेको उदय जालपा माध्यमिक विद्यालयमा शुक्रबार आयोजित 'अतिरिक्त क्रियाकलाप पुरस्कार वितरण तथा शिक्षक सम्मान' कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माविहरुमा प्राय: प्राथमिक तहका शिक्षक प्रधानाध्यापक बनेकाले शैक्षिक गुणस्तर बढ्न नसकेको बताउनुभएको हो ।
'विद्यालयको प्रधानाध्यपाक प्राइमरी लेभलको हुने अनि डिग्री होल्डर चाहिँ शिक्षक हुने । त्यो पनि करारमा । त्यो कारणले पनि शैक्षिक गुणस्तर अभिवृद्धि हुन नसकेको हो भन्ने मलाई लाग्छ,' अध्यक्ष तामाङले भन्नुभयो, 'म त्यत्तिकै गाउँपालिका अध्यक्ष भइराखेको छैन । मेरो ध्यान हरेक क्षेत्रमा पुगेकै छ । विद्यालयको तहअनुसारको योग्य र दक्ष प्रधानाध्यापक नियुक्तिको विषयमा हामीले बुझ्न सक्यौं भने शैक्षिक गुणस्तर अभिवृद्धि हुने नै छ ।
' अध्यक्ष तामाङले प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक नियुक्तिको प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो । 'प्रधानाध्यापक कसलाई बनाउने भन्ने कुराचाहिँ विद्यालय परिवार बसेर छलफल गर्ने विषय हो । मैले फलानोलाई बनाउनुस् भन्ने कुरा हैन,' नेकपा माओवादी केन्द्रका नेता समेत रहनुभएका अध्यक्ष तामाङले भन्नुभयो, 'आवश्यक परेमा विज्ञ झिकाएर, कार्यविधि बनाएर शिक्षकहरुबीच प्रतिस्पर्धा गराएर प्रधानाध्यपाक नियुक्ति गर्नुपर्दछ । त्यसो भएमात्र यहाँको शैक्षिक गुणस्तर अघि बढ्न सक्छ भन्ने मेरो ठम्याइ हो ।'
पञ्चकन्या गाउँपालिकाको अध्यक्षको हैसियतले गत असारमा सार्वजनिक नीति तथा कार्यक्रममा विद्ालयमा प्रधानाध्यापक नियुक्त गर्दा शैक्षिक योग्यता, पेसागत दक्षता तथा प्रशासनिक कार्यकुशलता पहिचान गर्न प्रतिस्पर्धात्मक प्रणाली अपनाउनुपर्ने विषय समेटेको उहाँले उल्लेख गर्नुभयो ।
अध्यक्ष तामाङले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न आवश्यक सबै सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको बताउनुभएको थियो । वडा नम्बर ४ का अध्यक्ष सन्च तामाङले शैक्षिक अवस्था सुधार भइरहेको बताउनुभयो ।
उदयजालपा देवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डेलबहादुर रुम्बाको सभापतित्वमा भएको कार्यक्रममा तामाङ घेदुङ इजरायलबाट प्राप्त छात्रवृत्ति, पुरस्कार, प्रमाणपत्र र शिक्षक सम्मान कार्यक्रम, शैक्षिक सत्र २०८० मा उक्त विध्यालयमा विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने छात्र छात्रालाई पुरस्कार, प्रमाणपत्र, शिक्षक प्रकाशचन्द्र कार्की र शिक्षिका पार्वती न्यौपाने सम्मान गरिएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजकुमार भेटुवालले विद्यालयको शैक्षिक गतिविधिबारे प्रकाश पार्नुभयो ।