काठमाडौं । नेपाल तामाङ घेदुङले शनिबार ६८ औं स्थापना दिवस मनाएको छ ।
तामाङ घेदुङ संघीय कार्यसमितिले घेदुङ सभाहल बौद्ध चुच्चेपाटीमा विभिन्न कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो । त्यस क्रममा शुभकामना आदन–प्रदान, घेदुङ सभाहलका लागि विभिन्न सामान किन्न सहयोग गर्नेलाई कदरपत्र प्रदानलगायत कार्यक्रम गरिएको थियो ।
ताम्बाहरुबाट साङसेर्गेम गरिएको थियो भने पूर्वमन्त्री, राजदूत, सांसद रहेका घेदुङका सल्लाहकार तथा सहभागीहरुले ६८ वटा बत्ति प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।
कदरपत्र १ लाख ६ हजार बराबरको साउन्ड सिस्टम सहयोग गर्नुहुने विजय लामा, मञ्चका लागि ५० हजार रुपैयाँ सहयोग दिनुहुने काभ्रे नमोबुद्ध नगरपालिकाका विष्णु मोक्तान, ३० हजार सहयोग गर्नुहुने तामाङ घेदुङ संघीय सदस्य पाल्छेन तामाङ, पर्दाका लागि २२ हजार ५ सय उपलब्ध गर्नुहुने काठमाडौं बौद्धका मनकुमार तामाङ, २२ हजार बराबरको च्योक्ची (छ्याङ्ते) उपलब्ध गराउनुहुने बौद्धका ओमबहादुर लो, २० हजार सहयोग गर्नुहुने विदुर नुवाकोटका जितेन तामाङ, डिस्पेसर सहयोग गर्नुहुने संघीय सदस्य निर्मल स्याङ्तान हुनुहुन्छ । यस्तै तामाङ समाज यूएई, कुलर सहयोगी तामाङ घेदुङका विभागीय प्रमुख हिरालाल तामाङ, प्रेम लो, धन पाख्रिन, चन्द्रमाया बम्जन, गोमन तामाङ, विनेश मोक्तान, लीला घलान, शंकरमान स्याङ्तानलगायतलाई कदरपत्र प्रदान गरिएको छ ।
महासचिव दोङले संकलित रकममध्येबाट मञ्चमा ७० हजार, पर्दा खरिदमा २२ हजार ५००, च्योक्ची २२ हजार, रङ १९ सय, डिस्पेन्सर १५ हजार १००, कुलर ३१ हजार ४००, कुर्सी २८ हजार ७५०, प्लाइ बोर्ड मर्मत ७ हजार ५६०, फाइल बोर्ड ५ हजार, मञ्चकार्पेट ७ हजार ५००, पोडियम १६ हजारलगायतमा खर्च भएको विवरण समेत सार्वजनिक गर्नुभएको छ ।
२ लाख २८ हजार ९१० रुपैयाँ खर्च भएको छ र २८ हजार ५७४ बाँकी रकमबाट मञ्चका लागि सोफा किन्ने तयारी रहेको घेदुङले जनाएको छ ।
स्थापना दिवस कार्यक्रममा तामाङ घेदुङ सल्लाहकारहरु डा गणेश योन्जन, दिलमान पाख्रिन, दावा लामा, शान्ति पाख्रिन, परशुराम तामाङ, भाषा आयोगका कामु सचिव डा लोकबहादुर लोप्चन, घेदुङ सहअध्यक्ष कुमारसिं घिसिङसहित पदाधिकारी, कार्यसमिति सदस्य, प्रवास समिति प्रमुख, प्रतिनिधि, लामागुरु, तामाङ अगुवा तथा शुभचिन्तक, पत्रकारलगायतको उपस्थिति थियो । नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङको अध्यक्षतामा भएको कार्यक्रम महासचिव जगतमान लामा दोङले सञ्चालन गर्नुभएको थियो ।
तामाङहरुको राष्ट्रिय साझा संस्था नेपाल तामाङ घेदुङको स्थापना २०१३ सालमा भएको हो । यो संस्था नेपाल आदिवासी जनजाति महासंघको ८ संस्थापक सदस्य संस्थाहरूमध्ये एक हो । घेदुङ नेपाल सरकारले स्थापना गरेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषद् सदस्य संस्था पनि हो । घेदुङको सातवटै प्रदेशमा प्रदेश समिति, ६२ जिल्लामा जिल्ला शाखा, ३०० भन्दा बढी गाउँपालिका/नगरपालिकामा स्थानीय समिति र ७०० बढी स्थानमा वडा कार्य समिति रहेका छन् । ता
माङ घेदुङले तमाङ समुदायको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक आन्दोलनका विषयलाई उठाउँदै आएको छ । तामाङ मातृभाषा, लिपि, ल्होछार पर्व, तामाङको जन्मदेखि मृत्युसम्मको संस्कारहरू र अन्य तामाङ विविधताको प्रवर्द्धन, विकास, एकरूपताको साथै तामाङ जातिको हक, अधिकार स्थापना र ताम्सालिङ पहिचानको आन्दोलनलाई घेदुङले निरन्तरता दिँदै आएको महासचिव दोङले बताउनुभयो । घेदुङको हाल १०१ सदस्यीय संघीय कार्यसमिति रहेको छ भने २१ पदाधिकारी र ४३ सदस्यीय सचिवालय रहेको छ । ७ वटा भ्रातृ संगठन (महिला, युवा, विद्यार्थी, लामा, संस्कृति, ताम्बा, बोन्बो) र ७ वटा विभागहरू (भाषा, संचार, उद्योग, कर्मचारी, ह्रुई–वंशावली, पुरातात्विक र सामाजिक कल्याण विभाग) छन् ।
त्यसैगरी विदेश तथा प्रवासस्थित डेढ दर्जन बढी मुलुकहरू कुवेत, भारत, इजरायल, अमेरिका, बेलायत, मलेसिया, दक्षिण कोरिया, बहराइन, मकाउ, बेल्जियम, रोमानिया, पोर्चुगल, जापान, ओमन, साउदी, दुबई, कतार, हङकङ, अस्ट्रेलिया, साईप्रस, क्यानडा, इराकमा शाखा तथा घेदुङमा आबद्ध तामाङ संस्थाहरू क्रियाशील छन् ।
घेदुङ तामाङ समाजको हित चाहने एक लाभ निरपेक्ष, साझा र राष्ट्रिय स्तरको समुदायमा आधारित (Community Based Organizations) सामाजिक संगठन हो । जसले गर्दा यो NGOS नभएर CBOS/IPOS अर्थात् आदिवासी जनजाति समुदायको संगठनको रूपमा चिनिन्छ । यसले नेपालका समस्त तामाङ समुदायको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक आन्दोलनको प्रतिनिधित्व गर्दछ । तामाङ समुदायको मातृभाषा, लिपि, ल्होछार पर्व, तामाङको जन्मदेखि मृत्युसम्मको संस्कारहरू र अन्य थुप्रै तामाङ विविधताको प्रवर्द्धन, विकास, एकरूपताको साथै तामाङ जातिको हक, अधिकार स्थापना र ताम्सालिङ पहिचानको लागि समेत घेदुङले संस्थागत रूपमा स्थापनाकालदेखि नै निरन्तर काम गर्दै आइरहेको छ । यसरी यो संस्थाले संसारभर छरिएर रहेको तामाङ जातिलाई सामाजिक, सांस्कृतिक रूपमा एकठाउँमा गोलबन्द गरेको छ ।
तामाङ समाजमा आजसम्मको मुख्य सामाजिक रूपान्तरणको सबै उपलब्धिहरू घेदुङकै महत्त्वपूर्ण देन भएको महासचिव दोङको भनाइ छ ।