सिन्धुली । सिन्धुलीमा मरिण गाउँपालिका स्तरीय अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।
आइतबार प्रतियोगिताको प्रतिनिधिसभाका सदस्य लेखनाथ दाहालले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रतिनिधिसभा सदस्य दाहालले गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिताले खेलाडीमा निखारता आउँने बताउनुहुँदै मरिणले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले प्रतियोगिताको लागि पालिकाको तर्फबाट १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताउनुभयो । साथै उहाँले पालिका स्तरीय खेलकुद प्रतियोगिताले खेलाडी उत्पादन गर्न सकिने उपज स्वरुप गत वर्षको प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता महिला तर्फ मरिण दोस्रो भएको स्मरण गराउनुभयो ।
सात दिन सम्म चल्ने प्रतियोगिताको उद्घाटन कार्यक्रम नवराज बरालले सञ्चालन गर्नुभएको थियो भने प्रतियोगिता मथौली खेलकुद मैदानमा भइरहेको छ ।
खेलकुद प्रतियोगिता अन्तर्गत फुटबल, भलिबल र ब्याडमिन्टन राखिएको छ । फुटबल पुरुष तर्फ १४ टिम र महिला तर्फ ७ टिमले प्रतियोगितामा सहभागिता जनाइरहेका छन् । फुटबलमा प्रथम स्थान हासिल गर्ने पुरुष र महिला दुबै टिमलाई एक÷एक लाख पुरस्कार राशीको व्यवस्था गरिएको छ । दोस्रो हुनेलाई ५०÷५० हजार राखिएको पालिकाले जनाएको छ ।
यस्तै ब्याडमिन्टनमा पहिलो हुनेलाई १० हजार रुपैयाँ पुरस्कार राखिएको छ । गाउँपालिका स्तरीय खेलकुद विकास समितिका अध्यक्ष सागर थिङको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष विमर्श मुक्तान, उपाध्यक्ष विमला माझी, प्रमुख प्रशासकीय अधिकृत ओम दर्जी, हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबा, मरिणका निवर्तमान अध्यक्ष पानीराज बोम्जन, जिल्ला समन्वय समितिका अध्यक्ष कार्साङ लामा , एसपी विनोद शर्मा लगायत विभिन्न राजनीतिक, सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र खेलकुद प्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो ।