नुवाकोट । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले गृहमन्त्रीमात्रै होइन, गल्ती गर्ने जोकोहीले कारबाही भोग्नु पर्ने बताउनुभएको छ ।
प्रेस सेन्टर नुवाकोटले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा सम्बोधन गर्नुहुँदै मन्त्री तामाङले सहकारी ठगी प्रकरण, सुन प्रकरणलगायतमा दोषी ठहरिए जोसुकैले कारबाहीको भागिदार हुनुपर्ने बताउनुभएको हो । उपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति सहकारी ठगी प्रकरणमा जोडिनुभएको व्यक्ति, उहाँमाथि कारबाही कसरी अगाडि बढ्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री तामाङले भन्नुभयो, 'गृहमन्त्रीमात्रै होइन, गल्ती गरेको छ भने जोकोहीले कारबाहीको भागिदार हुनुपर्छ । गृहमन्त्री छानबिनमा बाधक बन्नु हुँदैन ।'
मन्त्री तामाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेसमेत सुन तस्करीसम्बन्धी प्रतिवेदनलाई दायाँबायाँ नगरी कार्यान्वयन गर्न निर्देशन दिएको समेत उल्लेख गर्नुभयो । प्रचण्ड नेतृत्वको सरकारले १४/१५ महिनाको अवधिमा सामाजिक न्याय, सुशासन, मुलुकको समृद्धिमा उल्लेख्यको काम गरेको भन्नुहुँदै त्यसमा आफूहरुले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको पालामै सहकारीका ठग जीबी राईलाई पक्राउ गर्न निर्देशन दिइसकेकोले उनी पक्राउ परेपछि थप खुल्दै जाने उहाँको विश्वास थियो । नवनियुक्त उपप्रधामन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले त्यस्ता व्यक्तिलाई मन्त्रिपरिषद्म किन लगिएकोबारे प्रस्ट पार्न प्रधानमन्त्री प्रचण्डसँग जवाफ माग्दै संसद् अवरोध गर्दै आएको छ । कांग्रेसकै अवरोधका कारण शुक्रबार बसेको संसद् बैठक कार्यसूचीमै प्रवेश नगरी आइतबारसम्मका लागि स्थित गरिएको छ ।
मन्त्री तामाङ माओवादी केन्द्र विदुर नगर समिति, पञ्चकन्या गाउँपालिका समितिलगायतले आयोजना गर्ने भेटघाट तथा बधाई कार्यक्रममा पुग्ने तालिकारहेको उहाँको सचिवालयले जनाएको छ ।