धुलिखेल (काभ्रेपलाञ्चोक) । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले अनेकोटस्थित निर्माण थालनी गरेको सहिद स्मृति पार्कलाई पूर्णता दिनका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पाँचखाल नगर कमिटी र नेपाल कम्युनिष्ट पार्टीको जिल्ला समितिले आज अनेकोटमा संयुक्त रुपमा आयोजना गरेको ‘२६औँ सांस्कृतिक प्रतिरोध दिवस एवं सहिद तथा बेपत्ता योद्धा परिवार सम्मान कार्यक्रम’ मा उहाँले व्यवस्थित खालको सहिद पार्क निर्माणको लागि पूर्ण रुपमा सरकारले सहयोग गर्ने बताउनुभएको हो ।
कार्यक्रममा मन्त्री तामाङले छरिएर रहेका कम्युनिष्ट पार्टीहरु एकताबद्ध भएर अगाडी बढेमा मात्रै सहिदले देखेको सपना पूरा गर्न सकिने बताउनुभयो । “आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि सबै कम्युनष्टि एक ठाउँमा आउनुपर्छ,” उहाँले भन्नुभयो, “परिवर्तनको विरुद्धमा हुने सबैखाले षड्यन्त्रको विरुद्धमा सबै कम्युनिष्ट पार्टी मिलेर संयुक्त रुपमा लड्न आवश्यक छ ।” त्यसका लागि पार्टीले समाजवादी मोर्चा निर्माण गरेर अघि बढिरहेको उल्लेख गर्दै जनयुद्धमा जजसले साथ र सहयोग गरेको थियो, अहिले भिन्न तरिकाले आन्दोलन गर्ने पार्टीलाई सहयोग जरुरी रहेको उहाँको भनाइ छ ।
सो क्रममा उहाँले सहिदको सपना अझै पूरा नभएकाले सहिद र उनका परिवारमा विभाजन ल्याएर राजनीति गर्न नहुने भन्दै सबै पार्टीलाई एकै ठाउँमा उभिन आग्रहसमेत गर्नुभयो ।
कार्यक्रममा नेपाल कम्युनष्टि पार्टीका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इञ्चार्ज सविता तामाङ (बिन्दु) ले सहिदको सपना साकार पार्नका लागि सबै कम्युनिष्ट एक ठाउँमा आउनुपर्ने अपरिहार्य रहेको बताउनुभयो ।
पाँचखाल नगरपालिका–१ का वडाअध्यक्ष जयबहादुर तामाङले यसअघिका धेरै वर्षमा नेता तथा सांसदले सहिद पार्क निर्माणका लागि सहयोग गर्छु भनेर पटक पटक बोलेर गएको भए पनि खासै सहयोग प्राप्त हुन नसकेका कारण पार्क निर्माणको कामले पूर्णता पाउन नसकेको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पाँचखाल नगर कमिटीका सचिव उग्रराज तामाङले खादा, माला र अबिर लगाएर मात्रै सहिदको वास्तविक सम्मान हुन नसक्ने भन्दै सहिद, बेपत्ता र घाइते योद्धा परिवारको व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । सहिद पार्क निर्माणका लागि विस्तृत गुरुयोजना तयार नभएको भन्दै त्यसको लागि छिट्टै ध्यान दिन उहाँले जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सो ठाउँमा सहिद भएका परिवार तथा बेपत्ता परिवारलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । अनेकोटमा २०५५ साल चैत ५ गते सेनाले जागरणका गीत गाउँदै नागरिकलाई ब्युँझाउँदै हिँड्ने क्रममा त्यहाँका एउटा घरमा बास बसिरहेको अवस्थामा घर घेरा हाली जिउँदै जलाएर सातजना जनकलाकारको हत्या गरेको दिनलाई नेकपा माओवादी र त्यससँग आबद्ध रहेका अखिल नेपाल जनसांस्कृतिक महासङ्घले हरेक वर्ष सांस्कृतिक प्रतिरोध दिवसका रुपमा मनाउँदै आइरहेको छ । जहाँ नेकपा (माओवादी केन्द्र)ले सो ठाउँमा सहिद भएका सातजना जनकलाकारको अर्धकदको सालिक निर्माण गरेको छ । त्यसलाई पूर्णता दिन स्थानीय पार्टी कमिटीले आग्रह गर्दै आएको छ ।