लुम्बिनी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले लुम्बिनी सम्मेलनले विश्वमा बौद्ध शिक्षा र सन्देश पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
परराष्ट्र मन्त्रालय र अनरी कन्सुलर कप्र्स (एचसिसिएन) नेपालको आयोजनामा लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रो दिन शुक्रबार मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री तामाङले उक्त धारणा राख्नुभएको हो । 'बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर गरिएको लुम्बिनी सम्मेलनले विश्वमा बौद्ध शिक्षा र यसको सन्देश पुर्याउनेछ भन्ने मलाई विश्वास लाग्को छ,' उहाँले भन्नुभयो, 'लुम्बिनी गुरुयोजनाका बाँकी काम र बृहत्तर लुम्बिनीको विकासमा प्राथमिकताका साथ काम गर्नेछु ।'
बुद्धको शिक्षा वैज्ञानिक र व्यवहारिक रहेको भन्नुहुँदै लुम्बिनी सम्मेलनले विश्वमा शान्ति, करुणा र अहिंसाको सन्देश दिन सफल हुनुपर्ने उहाँले बताउनुभयो । बुद्धले आफैलाई चिन्नुपर्छ भनेर दिएको शिक्षा आजको विश्वमा झन् बढी अपरिहार्य बन्दै गएको उहाँको भनाइ छ ।
यस्तै लुम्बिनीमा आएका विभिन्न देशका गैरआवासीय राजदूत र महावाणिज्यदूतलाई स्वागत गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले बौद्ध दर्शनले विश्वमा शान्ति र अहिंसा कायम गर्न महत्वपूर्ण योगदान गर्ने बताउनुभयो । उहाँले विश्व शान्ति प्रवर्द्धनमा विश्वमा देखिएको द्वन्द्व समाधान गरी सहिष्णुता कायम गर्ने बताउनुभयो । उपाध्यक्ष डा लामाले बुद्धका शिक्षा विश्वभर फैलाउन सक्दा शान्ति, करुणा, सद्भाव कायम गर्न सकिने भएकाले यसको सन्देश प्रचार गर्न आग्रह गर्नुभयो ।
सम्मेलनमा विभिन्न १९ देशका गैरआवासीय राजदूत, विभिन्न देशका वाणिज्य दूत र सरकारी अधिकारी बुद्धजन्मस्थल लुम्बिनीमै आएर बुद्व, शान्ति र समृद्विका लागि एकताबद्ध भई सन्देश दिएका हुन् । बुद्धको पवित्र जन्मस्थलमा आएर सम्मेलनमार्फत विश्वमा बढ्दै गएको द्वन्द्व र अहिंसालाई त्याग्दै शान्तिबाटै समृद्धिको बाटोमा जान महत्वपूर्ण सन्देश दिन सकिएको आयोजक अनरी कन्सुलर कर्प नेपालका डिन विष्णुकुमार अग्रवालले बताउनुभयो ।
मायादेवीमा भएको कार्यक्रममा इन्डोनेशियाका राजदूत एनआर हेरुले बुद्ध जन्मस्थल जस्तो पवित्र भूमिका आएर शान्तिको सन्देश दिन पाउँदा आनन्द प्राप्त भएको बताउनुभयो । नेपालमा लगानीका अवसर, पर्यटन प्रवर्द्धन, लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलगायतका विषयमा छलफल र प्रस्तुति गरिएको सम्मेलनका सहसंयोजक नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताउनुभयो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोषका पदाधिकारी, बोर्ड सदस्य, पर्यटन व्यवसायीलगायतको उपस्थिति रहेको थियो । सम्मेलन अष्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मङ्गोलिया, इन्डोनेसिया, सेय्चेल्लेस, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदूत सहभागी भएका हुन् ।
समृद्धिका लागि विश्व शान्ति सम्मेलनमा सहभागी हुन लुम्बिनी आएका उनीहरू बुटवलस्थित लुम्बिनी केवलकारको भ्रमण गरेका थिए । यस्तै लुम्बिनीमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित विभिन्न देशका गैरआवासीय राजदूतको उपस्थितिमा सीता अशोकको वृक्षरोपण गरिएको छ ।