घलेभन्ज्याङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पञ्चकन्या र नुवाकोट जिल्लामै धेरै पर्यटक भित्र्याएर कृषि उपजहरुको व्यापारीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
पञ्चकन्या २ बोजिनी फाँटमा शुक्रबार 'प्रथम पञ्चकन्या व्यापार, कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव-२०८०/८१ उद्घाटन समारोहमा सम्बोधन गर्नुहुँदै मन्त्री तामाङले अब बढीभन्दा बढी पर्यटक भित्र्याउनुपर्नेमा जोड दिनुभयो । मन्त्री तामाङले भन्नुभयो, 'विगतमा आवश्यकताको तुलनामा नभएको पक्कै हो । यही आर्थिक वर्षदेखि जिल्लाका थुप्रै पर्यटकीय क्षेत्रमा लगानी बढाउने, पूर्वाधार विकास गर्ने । बढीभन्दा बढी पर्यटक भित्र्याएर कृषि उपजहरुलाई व्यापारीकरण गर्ने हिसाबले सोच्नुपर्छ ।'
मन्त्री तामाङले कृषिलाई व्यावसायीकरण गरेरमात्रै नहुँदै भन्दै यसलाई पर्यटनसँग जोड्नुपर्ने भनाइ राख्नुभयो । 'कृषिलाई व्यावसायीकरण गरेर मात्रै हुँदैन । हामीले यसलाई पर्यटनसँग जोड्नुपर्छ । त्यसका लागि अहिले बजारमा कुन कृषि उपजको माग छ । मागअनुरुपको उत्पादन गर्नुपर्छ । उत्पादन गरेरमात्रै हुँदैन । साँच्चै पर्यटनसँग जोड्ने हो भने यो गाउँपालिका, जिल्लामा बढीभन्दा बढी पर्यटक भित्र्याउनुपर्छ,' उहाँले भन्नुभयो ।
विभिन्न खाले पर्यटकहरु आउने उल्लेख गर्नुहुँदै मन्त्री तामाङले जिल्लाका पर्यटकीय क्षेत्रहरुमा पर्याप्त विकास गर्नतर्फ लाग्नुपर्ने बताउनुभयो । 'विभिन्न खाले पर्यटकहरु । कृषि पर्यटक पनि आउन सक्छन्, खरिद गर्ने उद्देश्यका साथ । हाम्रो सात तले दरबार छ । कयौं पुरातात्विक महत्वसँग जोडिएका क्षेत्रहरु छन् । ऐतिहासिक महत्वका तीर्थस्थलहरु छन् । प्राकृतिक दृष्टिले ज्यादै महत्वपूर्ण दृश्यावलोकन गर्ने ककनी, चिसापानीजस्ता ठाउँहरु छन् । जहाँ पर्याप्त मात्रामा पूर्वाधारहरु विकास गर्न सक्यौं भने सबै सांस्कृतिक सम्पदाहरुको संरक्षण, संवर्द्धन गर्न सक्यौं । आवश्यक मात्रामा पूर्वाधार विकास गर्न सक्यौं भने काठमाडौंबाट नजिक थोरै समयमा धेरै महत्वपूर्ण ठाउँहरु अवलोकन गर्न सकिने हाम्रो जिल्लामा छन्,' उहाँको भनाइ थियो ।
पञ्चकन्या, लिखु, तादी, ककनी गाउँपालिका र बेलकुकोटगढी नगरपालिकाहरुका कतिपय कृषकहरुले अहिले पनि व्यावसायिक रुपले उत्पादन प्रक्रिया अगाडि बढाइराखेको उल्लेख गर्दै मन्त्री तामाङले किसानले उत्पादन गरेको वस्तु लागतअनुसार मूल्य नपाइनु दुखको कुरा भएको बताउनुभयो । कोभिडपछि मुलुकमा कृषि तथा पर्यटन क्षेत्र भर्खरै तंग्रिँदै गएको भन्नुहुँदै उहाँले संस्कृति, पर्यटन र कृषि तथा भौतिक पूर्वाधार विकासको क्षेत्रमा नीतिगत र कार्यक्रमिक हिसाब कसरी जान सकिन्छ भन्ने हिसाबले सोचिरहेको बताउनुभयो । 'हामीले संस्कृति, पर्यटन र कृषिको क्षेत्रमा तथा अरु भौतिक पूर्वाधार विकासको क्षेत्रमा नीतिगत र कार्यक्रमिक हिसाबले कहाँ के गर्नुपर्ने र कसरी गर्नुपर्ने भन्ने हिसाबले सोच्नु पर्नेछ । यो महोत्सव २०८१/८२ को नीति कार्यक्रम बनाउनका लागि, योजना तर्जुमा गर्न । हाम्रो भूगोलको आवश्यकताका कार्यक्रमहरु सम्पन्न गर्नका लागि महत्वपूर्ण ज्ञान शिक्षा र आधार प्राप्त गरेको मलाइ लागेको छ,' उहाँको भनाइ थियो ।
पञ्चकन्या गाउँपालिका वडा नम्बर २ को आयोजनामा सुरु भएको पञ्चकन्या महोत्सव वैशाख ३ गतेसम्म चल्ने छ । महोत्स्वमा कृषि उपजहरुको प्रदर्शन र बिक्री, रमाइलो खेल तथा मनोरञ्जन, राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसहित विभिन्न सांस्कृतिक प्रतियोगिता तथा खानाको परिकार रहेको आयोजकले जनाएको छ ।
उद्घाटन सत्रमा वाग्मती प्रदेश सांसद रमेश महत, जिल्ला समन्वय समिति प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरी, पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ, विभिन्न वडाका अध्यक्षहरु, दलीय प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय लगायतको बाक्लो उपस्थिति थियो।