नुवाकोट । नुवाकोट १ (१) बाट वाग्मती प्रदेशसभामा निर्वाचित सांसद राधिका तामाङले शिवपुरी गाउँपालिकाको ढलानघर-स्याल्पिङखोला-शिवालय सडक आउँदो वर्ष जसरी पनि निर्माण गराउने प्रतिबद्धता जनाउनुभएको छ ।
ग्रामीण देवी बहुउद्देश्यीय युवा समाजले शनिबार टोखा नगरपालिकाको भुतखेल चौरमा आयोजना गरेको 'नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम' लाई सम्बोधन गर्नुहुँदै सांसद तामाङले आउँदो आर्थिक वर्ष २०८१/८२ को बजेटमा उक्क सडक खण्डलाई जसरी रकम पारेर सडक निर्माण गराउने बताउनुभएको हो । सडक डिभिजन नुवाकोटबाट र जनप्रतिनिधिको तर्फबाट पहल भइरहेको जनाउँदै उहाँले सकेसम्म संघबाटै नसके प्रदेशबाट भए पनि बजेट छुट्याइने प्रस्ट पार्नुभयो ।
'यो पटक जसरी हुन्छ बाटोलाई हामीले बनाउनुछ भनेर सल्लाह गरेका छौं । उहाँको लेटरप्याटमा सडक डिभिजनबाट पनि हामीले अगाडि बढाएका छौं । सडक डिभिजन नुवाकोटका डिईमार्फत अफिसियली अगाडि बढाएका छौं भने हाम्रो तर्फबाट पनि अगाडि बढेको जानकारी गराउन चाहन्छु,' वाग्मती प्रदेशको पूर्व उपसभामुखसमेत रहनुभएका तामाङले भन्नुभयो, 'यदि संघबाट पर्न सकेन भने प्रदेश सरकारको बजेटबाट छुट्याउने हो ।'
ढलानघर-स्याल्पिङखोला-शिवालय सडकको बजेटका लागि अर्थमन्त्री वर्षमान पुन, नुवाकोट १ बाट निर्वाचित संघीय सांसद तथा वर्तमान पर्यटनमन्त्री हितबहादुर तामाङ, स्थानीय नेता र नागरिकसँगसमेत निरन्तर संवादमा रहेको सांसद तामाङले उल्लेख गर्नुभयो । 'आज (शनिबार) मात्रै बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीज्यूसँग यही योजना (शिवपुरी ढलानघर, स्याल्पिङखोला, शिवालय) का विषयमा सल्लाह गरेर आयौ । हिजो (शुक्रबार) अर्थमन्त्री माननीय वर्षमान पुनज्यूकहाँ म पुगेको थिएँ । यो विषयमा कुरा गरेँ । यहाँ हाम्रो पार्टी नेकपा माओवादी केन्द्रका वडाका अध्यक्ष श्याम पाण्डे, निर्वाचित वडाध्यक्ष, त्यहाँका वडाका नेताहरुले पनि मलाई सुझाव दिनुभएको छ । यसमा हामी सबै एकताबद्ध भएर लाग्यौं भने बाटो बन्छ ।'
आफ्नै निर्वाचन क्षेत्र र गृह जिल्ला भएकोले पनि शिवपुरी ढलानघर, स्याल्पिङखोला, शिवालय सडक बन्दा आफ्नो शिर उचो बन्ने उहाँको भनाइ थियो । 'म शिवपुरीको नागरिक, तपाईंहरुकै छोरीचेली, तपाईंहरुसँगै सहकार्य गरेर अगाडि बढिरहेको छु । त्यो बाटो बन्द तपाईंहरुको मात्रै होइन, मेरो पनि शिर उचो हुन्छ,' सांसद तामाङको भनाइ थियो ।
उक्त सडक सबै मिलेर बनाउनुपर्नेमा जोड दिनुहुँदै सांसद तामाङले मन्त्री हितबहादुर तामाङ पनि यसमा अत्यन्तै चिन्तित र गम्भीर रहेको सुनाउनुभयो । 'हाम्रो मन्त्री (हितबहादुर)ज्यू पनि चिन्तामा हुनुहुन्छ । त्यो बाटोका कारण म विवादित जस्तो बनेँ । मेरो नियत त्यस्तो होइन । उहाँले त्यो जसरी पनि बनाउनुपर्छ भनेर मसँग पनि भन्नु भएको छ । सबै राजनीतिक दलहरु जाँदा पनि उहाँले सायद त्यही भन्नु भएको छ । र, पार्टीभित्र पनि त्यही भनिरहनुभएको छ,' पूर्वराज्यमन्त्री तामाङले भन्नुभयो, 'त्यसकारण उहाँ (मन्त्री हितबहादुर तामाङ)प्रति पनि शंका नगर्नाका निम्ति सबै ७ नम्बरवडावासीलाई यो कार्यक्रममार्फत आग्रह गर्न चाहन्छु । हामी गर्छौं । माननीय हितबहादुर तामाङ, यहाँ ७ नम्बर वडाका नागरिक, सबै राजनीतिक दल मिलेर बनाउँछौं । यो काम हाम्रो हो भन्नै मैले बुझेको छु । त्यसमा तपाईंहरुको साथ र सहयोग आवश्यक छ ।'
सांसद तामाङले पछिल्लो समय नेपालीमा जस लिनेमा होडबाजी गर्ने प्रवृत्ति देखिएकोमा असन्तुष्टि जनाउँदै सबै मिलेर गरेमात्र विकास हुने बताउनभयो । 'नेपालमा अहिले देखिएको समस्या भनेकै जस कसले लिने भन्नेमा छ, काम कसले गर्ने भन्नेमा तँछाडमछाड देखिन्न । त्यसैले सबै मिलेर राम्रो काम गरौं । सबै मिलेर जस बाँडौं । यो कांग्रेसले पनि गरेको हो । यो माओवादीले पनि गरेको हो । एमालेले पनि गरेको हो । अन्य पार्टी र नागरिक समाज सबैको संयुक्त पहलले गरेको हो भन्ने सन्देश हामीले दिन जरुरी छ । यसरी अगाडि बढ्न सकेमात्र विकास गर्न सक्छौं,' उहाँको भनाइ थियो ।