पर्सा, १७ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले मिसन ८४ पूरा गर्न वर्तमान सत्ता गठबन्धन बनाएको जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्साको नवौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई आज वीरगञ्जमा सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले एमालेलाई सिध्याउने मनसाय राखि बनाएको सत्ता गठबन्धन नभई २०८४ सालमा हुने आम निर्वाचनमा एमालेलाई बहुमत हासिल गर्ने योजनाअनुसार वर्तमान सत्ता समीकरण बनाइएको प्रस्ट पार्नुभयो ।
उहाँले विकासको कुरा नगर्ने, भ्रष्टाचार, विभेद र छुताछूतविरुद्ध नबोल्ने एमालेका कार्यकर्ता हुनै नसक्ने बताउनुभयो । समाजिक सद्भावलाई खलल पुर्याउने र हिन्दूलाई मुस्लिमसँग जुधाउनेविरुद्ध खडा हुन नसक्ने नेकपा (एमाले)का कार्यकर्ता हुन नसक्ने उहाँले प्रस्ट पार्नुभयो ।
एमालेका कुनै पनि नेता वा कार्यकर्ता जातीय सद्भावलाई खलबलाउने कार्यमा संलग्न भएमा दण्डको भागिदार हुने उहाँले बताउनुभयो । धार्मिक, सामाजिक सदभाव र आपसी भाइचाराले मात्र मुलुक बलियो नेपाली समाज समृद्ध हुन सक्ने उहाँको भनाइ थियो ।
एमाले पर्साका इन्चार्ज विश्वम्बर शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमालेका सचिव एवम् मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले मुलुकमा उद्योग–व्यवसायको विकास नभई समृद्धिको लक्ष्य हासिल गर्न नसकिने भएकाले वीरगन्जको चिनी काराखाना, कृषि औजार कारखानाजस्ता बन्द भएका उद्योगलाई पुनः सञ्चालन गर्न सरकारलाई अपिल गर्नुभयो ।
उहाँले समग्र तराईकै विकासको सम्भावना बोकेको हुलाकी राजमार्गको अधुरो कामलाई चाँडै पूरा गर्न सरकारलाई आग्रह गर्नुभयो ।