काठमाडौं । वाग्मती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र मान बज्राचार्यले तामाङ र नेवार समुदायको २ सय ५० वर्ष पछिको ठूलो उपलब्धि प्राप्त गरेको बताउँनु भएको छ । काठमाडौंमा आयोजना गरिएको ‘ प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ कार्यान्वयन शुभारम्भ घोषणा कार्यक्रमको पत्रकार सम्मेलनमा मन्त्री बज्राचार्यले यस्तो बताउँनुभएको हो ।
तामाङ र नेवार भाषा सरकारी कामकाजको भाषामा कार्यान्वयन गर्नको लागि अथवा यो अधिकार प्राप्तिको लागि धेरै समुदायले आन्दोलन, संघर्ष र सहिद हुनुपरेको बताउनुहुँदै २५० वर्ष पछिको ठूलो र ऐतिहासिक उपलब्धि भएको मन्त्री बज्राचार्यको ठम्याइछ ।
भाषालाई सरकारी कामकाजीको भाषामा कार्यान्वयन गर्नको लागि महत्वपूर्ण भूमिका खेल्ने नेवा समुदायको नेवा देय् दबु र नेपाल तामाङ घेदुङको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउँनुभयो । ऐन कार्यान्वयनको लागि सक्रिय भूमिका निर्वाह गर्ने पनि मन्त्री बज्राचार्यले प्रतिबद्धता जनाउँदै तामाङ र नेवार समुदायलाई सक्रिय भूमिका निर्वाहको लागि आग्रह गर्नुभएको छ ।
साथै उहाँले लामो समयको सङ्घर्षबाट प्राप्त भाषा ऐन कार्यान्वयन ल्याउने अन्तिम तयारी भएको हुँदा, कार्यान्वयन गरिने दिन बैशाख २४ गते वाग्मती प्रदेशमा सार्वजनिक बिदा दिईने पनि बताउँनुभयो ।
लामो समयको सङ्घर्षबाट प्राप्त उपलब्धीको बारेमा सबै नागरिकको जान्नु पर्ने भन्दै वैशाख २४ गते सार्वजनिक बिदा दिन लागिएको बताउँनुभयो । अन्य समुदायको विषयलाई पनि मन्त्रालयले प्राथमिकतामा राखिने जानकारी गराउँनुभयो ।
पत्रकार सम्मेलनमा वाग्मती प्रदेशका सांसद तथा तत्कालीन मन्त्री पुकार मानन्धरले ऐन लामो समयको छलफल पछि कार्यान्वयनको ल्याउने तयारी गरिएको बताउँनुभयो । पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै सांसद मानन्धरले संघीयताको ठूलो उपलब्धि भाषा ऐन भएको पनि बताउँनुभयो ।
भाषा ऐन कार्यान्वयनको लागि विभिन्न समिति गठन गरिएको र सम्बन्धित क्षेत्रको विज्ञहरूको सुझावको आधारमा अघि बढ्ने पनि बताउनुभएको छ । गत २०८० असोज २२ गते वाग्मती प्रदेशसभामा मुख्यमन्त्री शालिकराम जम्कटेलको विशेष पहलमा तत्कालीन संस्कृति, पपर्यटन तथा सरकारी मन्त्री पुकार महर्जनले ‘ प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ प्रस्तुत गर्नुभएको थियो ।
संसदबाट सर्वसम्मत पारित भएको उक्त ऐन गत २०८० कार्तिक २३ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । राजपत्रमा प्रकाशित भएको १८० औं दिनमा विधेयक परिपक्क भई कार्यान्वयनमा जाने कानुनी व्यवस्था रहेको छ । सोही अनुरूप आउँदो वैशाख २४ गते यो ऐन कार्यान्वयनमा जान लागेको हो ।
वैशाख २४ शुभारम्भ
भाषा आयोगको सिफारिसमा वाग्मती प्रदेश सरकारले पारित गरेको ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ वि.स २०८१ वैशाख २४ गते तदनुसार नेपाल संवत् ११४४ चौलागाः त्रियोदशी÷ मञ्जुश्री संवत् २८६० का दिन दिने व्यवहारमा लागू हुन गइरहेको छ ।
वैशाख २४ गते संघीय राजधानी काठमाडौंको सांस्कृतिक केन्द्र रहेको बसन्तपुरको हनुमानढोका दरवार परिसरमा एक विशेष कार्यक्रमको आयोजना गरि कार्यान्वयनको शुभारम्भ गरिने छ । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यमा हुने कार्यक्रमको व्यवस्थापनको जिम्मा नेवा देय् दबु नेपाल तामाङ घेदुङको रहेको छ ।
सभा अघि बसन्तपुरबाटै स्थानीय नेवाः र तामाङ समुदायको सांस्कृतिक भेषभुषा एवं बाजागाजा सहितको सांस्कृतिक र्यालीको पनि आयोजना गरिएको छ ।
उक्त सांस्कृतिक बिहान ७ बजे र्याली काठमाडौंमा श्री कुमारी रथयात्रा परिक्रमा गरिने सांस्कृतिक मार्ग हुँर्दै पुनः बसन्तपुरमा पुगी सभामा परिणत हुने छ । वैशाख २४ गतेको ऐन शुभारम्भको कार्यक्रम सफल पार्नको लागि भाषा दिवस मूल समारोह समितिको संयोजकको तथा मन्त्री बज्राचार्य आफै सक्रिय रुपमा लागि रहनु भएको छ ।
पत्रकार सम्मेलनको कार्यक्रम मन्त्रालयको सचिवले गर्नुभएको थियो भने स्वागत नेवाः देय् दबुका अध्यक्ष पवित्र बज्राचार्यले गर्नुभएको थियो सहभागीलाई धन्यवाद ज्ञापन घेदुङका उपाध्यक्ष सन्चु ब्लोनले गर्नु भएको थियो ।