काठमाडौं । वाग्मती प्रदेश सरकारले बैशाख २४ गते (सोमबार) भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । वैशाख २४ गते तामाङ र नेपाल (नेवार) भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा सोमबार वाग्मती प्रदेशका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको छ ।
वैशाख २४ गते देखिनै सरकारी कार्यालयको बोर्डहरू पनि परिर्वतन गरिने जनाएको छ । वाग्मती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र मान बज्राचार्यले लामो समयको सङ्घर्षबाट प्राप्त उपलब्धीको बारेमा सबै नागरिकको जान्नु पर्ने भन्दै वैशाख २४ गते सार्वजनिक बिदा दिइएको बताउनुभयो ।
गत २०८० असोज २२ गते वाग्मती प्रदेशसभामा मुख्यमन्त्री शालिकराम जम्कटेलको विशेष पहलमा तत्कालीन संस्कृति, पर्यटन तथा सरकारी मन्त्री पुकार महर्जनले ‘ प्रदेश सरकारी कामकानको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ प्रस्तुत गर्नुभएको थियो ।
संसदबाट सर्वसम्मत रूपले पारित भएको उक्त ऐन गत २०८० कार्तिक २३ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । राजपत्रमा प्रकाशित भएको १८० औं दिनमा विधेयक परिपक्क भई कार्यान्वयनमा जाने कानुनी व्यवस्था रहेको छ । सोही अनुरूप आउँदो वैशाख २४ गते यो ऐन कार्यान्वयनमा जान लागेको हो ।
वैशाख २४ गते संघीय राजधानी काठमाडौंको सांस्कृतिक केन्द्र रहेको बसन्तपुरको हनुमानढोका दरवार परिसरमा एक विशेष कार्यक्रमको आयोजना गरि कार्यान्वयनको शुभारम्भ गरिने छ । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा हुने कार्यक्रमको व्यवस्थापनको जिम्मा नेवा देय् दबु र नेपाल तामाङ घेदुङको रहेको छ ।
सभाअघि बिहान ७ बजे बसन्तपुरबाटै स्थानीय नेवाः र तामाङ समुदायको सांस्कृतिक भेषभुषा एवं बाजागाजा सहितको सांस्कृतिक र्यालीको आयोजना गरिएको छ ।