सिन्धुली । तपाईं आजभोलि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका कार्यालय जानुभयो भने परिसरमा तर्बुजा, फल्दै गरेका आँपका बगैंचा देख्नुहुनेछ । यो कुनै व्यावसायिक किसानले लगाएको खेतीबाली नभई पालिकाले नै लगाएको 'डेमो' अर्थात् नमुना कृषि खेती हो ।
पालिकाले सिजनअनुसार खेती गर्दै सस्तोमा बिक्री वितरण गर्दै पनि आइरहेको छ । अहिले पालिकाको कृषि शाखाले ५ देखि ६ कठ्ठामा तर्बुजा, काँक्रा, घिरौला, लौकालगायत तरकारी र फलफूल लगाएको छ । आँप बगैंचा मात्रै ५० बिघामा लगाइएको छ । आँप खेती पालिकाका पूर्वअध्यक्ष कार्साङ लामाको पालादेखि नै लगाउन सुरु गरिएको हो ।
अहिले आँप कम फले पनि अर्को वर्षदेखि आँपबाटै राम्रो आम्दानी हुने कृषि शाखा प्रमुख प्रवेश देवकोटाले बताउनुभयो । देवकोटाले नागरिकलाई कृषि व्यवसायमा प्रोत्साहन गराउनका लागि पालिका आफैले नमुना कृषि खेती गरिरहेको बताउनुभयो ।
‘अरुले नगरेसम्म आफूले नयाँ कुराको सुरुआत नगर्ने चलन जस्तै रै'छ, त्यसैले कृषिको विषयमा किसानलाई नमुनाको रुपमा देखाउन पनि पालिकाले कृषि खेती सुरु गरेको हो,' ग्लोबल मिडियासँगको कुराकानीमा देवकोटाले भन्नुभयो, 'पालिकाले कृषि खेती सुरु गरेपछि यहाँका नागरिकहरूले पनि थाल्नु भएको छ ।’
पालिकाको आफ्नै नर्सरी हाउसले सिजन अनुसारको कृषिको बेर्ना तयार गर्ने र नागरिकलाई निःशुल्क वितरण गर्दै आइरहेको छ । किसानलाई खेतीमा आकर्षण गराउनको लागि हरिहरपुरगढी गाउँपालिकाले हालसम्म कृषि औजार, बिउबिजन लगायतमा शतप्रतिशत अनुदान दिँदै आएको कृषि शाखाका देवकोटाले बताउनुभयो ।
अन्नबाट भन्दा पनि तरकारी खेतीबाट आम्दानी बढी हुने गरेको भन्दा बिस्तारैबिस्तारै हरिहरपुरगढीका किसानले कृषि खेतीबारे चासो दिन थालेका छन् । अहिले पालिकाको तर्फबाट 'एक टोल एक कृषि खेती समूह' गठन गरिएको छ । एउटा समूहमा १५ देखि २५ जना बस्न मिल्छ भने हालसम्म २५ वटा टोल कृषि खेती समूह बनाइएको छ ।
धेरै किसानहरू समूहमा आबद्ध भएर खेतीमा लागेका छन् । पालिकाले प्रदेश सरकारसँग आबद्ध भएर सञ्चालन गरेको दुई सहकारीको सवारी साधनले कृषकले उत्पादन गरेको कृषिजन्य वस्तुलाई बजारसम्म पुर्याउनको लागि पनि सहयोग गर्दै आइरहेको छ । आर्थिक रुपमा मजबुद हुने ठूलो आधार कृषि नै भएकोले यस व्यवसाय पालिकाको पहिलो प्राथमिकतामा रहेको देवकोटाले बताउनुभयो ।