काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले मुलुकमा धेरै पर्यटक भित्र्याउन नयाँ गन्तव्य खोजिने कार्य भैरहेको बताउनुभएको छ ।
काठमाडौँमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको ४५ औं वार्षिकसाधारणलाई सम्बोधन गर्नुहुँदै बिहीबार मन्त्री तामाङले उक्त धारणा राख्नु भएको हो । यस वर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने गरी सरकारले काम गरिरहेको बताउँदै उहाँले सरकार र निजी क्षेत्रको सहकार्यमा मात्र पर्यटन प्रवर्द्धन गर्न सकिनेसमेत बताउनुभयो । सन् २०२३ मा १० लाख पर्यटक नेपाल आएको र सन् २०२४ मा कम्तीमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको मन्त्री तामाङको भनाइ छ ।
उहाँले निजी क्षेत्रसँग सहकार्य गरेर इको हिल स्टेसन संचालन गर्न सरकारले तयारी गरिरहेको बताउँदै गर्मी छल्न विशेषगरी नेपालका तराईका बासिन्दा र भारतीय पर्यटकका लागि आफ्नो रोजाई अनुसारको मज्जा लिएर रमाउन सकिने धारणा राख्नुभयो । कयौं मनमोहक बनाउने सुन्दर ताल र हिमश्रृंखलाहरु नेपालमा रहेको भन्दै उहाँले शान्तिको प्रतिक भगवान् गौतम बुद्ध (लुम्बिनी), पशुपतिनाथ, मुक्तिनाथलगायत कयौं धार्मिकस्थल पर्यटनको राम्रो गन्तव्य हुनसक्ने धारणा राख्नुभयो ।
सरकारले यस क्षेत्रको विकासका लागि पहिले लगाउँदै आएको भ्याट र केही कर हटाउने काम भैरहेको र यसले सस्तोमा पर्यटक नेपालमा धेरै समय बस्न प्रोत्साहित हुने विश्वास सरकारले लिएको उहाँको भनाइ छ । विश्व पर्यटन बजारमा नेपाल घुम्नैपर्ने सूचीमा पर्ने हुँदा अब पुरानो गन्तब्यमात्र नभई पर्यटनको राम्रो सम्भावना देखिएको नयाँ गन्तव्यमा पूर्वाधार निर्माणको काम सुरु भैसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, 'यहाँको प्राकृतिक सम्पदा, हिमालको आरोहण गर्न आउने पर्यटक संख्यामा अझ बढोत्तरी गर्नुपर्ने अवस्था रहेको छ ।'
पर्यटन क्षेत्रको विकासले मुलुकलाई समृद्ध पार्न आधार तयार पार्ने हुँदा यस क्षेत्रमा काम गर्दै आइरहेका संस्थासँग सहकार्य गरेर सरकारले काम गर्ने उहाँले बताए । काठमाडौंमा दुई दिनसम्म चलेको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको ४५ औं वार्षिक साधारणबाट नयाँ कार्यसमिति चयन भएको छ ।
बिहीबार भएको सभाले खेमराज लखाईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ भने उनीहरुको कार्यकाल २ वर्षको हुनेछ । पाटाले प्रत्येक वर्ष अन्तर्राष्ट्रियस्तरको हिमालयन ट्राभल मार्ट नेपालमै गर्दै आएको छ । यस ट्राभल प्रदर्शनीमा करिब ४०-४५ देशहरूले भाग लिने गरेका छन् । यस कार्यक्रममा विदेशी पर्यटन विज्ञ स्रोत व्यक्तिहरूसमेत नेपाल आएका थिए ।