सोलुखुम्बु ,रासस । मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् ।
गत जेठ २६ गतेदेखि अतिव्यस्त सो विमानस्थलमा कुनै पनि जहाजले उडान भर्न नसक्दा खुम्बु भ्रमणमा आएका पर्यटक मर्कामा परेका हुन् ।
अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटक फर्कने सिजन हो । यतिखेर आउनेभन्दा फर्किने पर्यटक ज्यादा हुन्छन्, तर मौसमअनुकूल छैन । त्यसैले सबै उडान तालिका १० दिनदेखि रद्द भइरहेको छ, हुस्सुले वरको वस्तु परबाट देखिन्न, झन् जहाज उडान हुने त कुरै छैन ।”
लुक्ला विमानस्थलमा मौसमका कारण
हेलिकप्टरसमेत अवतरण हुन नसक्दा लुक्लाभन्दा तल रहेको सुर्के हेलिप्याडबाट हेलिकप्टरहरूले उडान गरिरहेको एयर ट्राफिक कन्ट्रोलर दाहालले जानकारी दिनुभयो । सुर्के केही होचो स्थान भएकाले त्यहाँबाट हेलिकप्टरले पर्यटक काठमाडौँ लैजाने गरेको उहाँले बताउनुभयो । भौगोलिक बनावटका कारण पनि लुक्लामा बढी हुस्सु लाग्ने भएकाले उडानमा समस्या हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।
मौसम सामान्य प्रतिकूल हुनेबित्तिकै लुक्लामा उडान ठप्प हुने भएकाले पर्यटक मर्कामा पर्ने गरेको तारा एयरका लुक्ला स्टेशन प्रमुख अमृत मगरले बताउनुभयो । यतिखेर खुम्बुमा पर्यटक यामको सकिन लागेकाले लुक्ला भित्रिनेको तुलनामा बाहिरिने बढी छन् । यद्यपि मौसमका कारण सबै उडान तालिका रद्द गर्नुपरेको उहाँ बताउनुहुन्छ । “विदेशीहरू यतिबेला आउनेभन्दा फर्किने बढी छन् आउने फाट्टफुट्ट छन् तर आएकाहरू फर्कने अलि बढी छन्”, उहाँले भन्नुभयो ।
लुक्लाभन्दा तल करिब चार घण्टाको पैदल दूरीमा पर्ने थामडाँडासम्म गाडी पुग्ने गर्छ । यसका कारण कतिपय पर्यटक तीनदेखि चार घण्टाको पैदल हिँडेर थामडाँडा झरेर त्यहाँबाट गाडीमार्फत सदरमुकाम सल्लेरी हुँदै काठमाडौँ फर्कने गरेका छन् । थामडाँडाबाट सल्लेरीको दूरी करिब ७० किलोमिटर छ । उक्त सडक कच्ची भएकाले बोलेरो गाडीमात्रै सञ्चालन हुने गरेको छ ।
थामडाँडाबाट सल्लेरीको गाडी भाडा प्रतिव्यक्ति रु दुई हजार दुई सय लिने गरेको यातयात व्यवसायी रामबहादुर विश्वकर्माले बताउनुभयो । थामडाँडाबाट आएको दिन सल्लेरी बास बस्ने पर्यटक भोलिपल्ट विमान, जिप तथा बसमार्फत काठमाडाँै फर्कने गरेका छन् । सल्लेरीबाट दुई सय ७५ किलोमिटरको दूरीमा पर्ने काठमाडौँको जिपभाडा प्रतिव्यक्ति रु दुई हजार लिने गरेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिरणको तथ्याङ्क छ । लुक्लासम्म सडक सञ्जाल नपुगेकाले यस विमानस्थलको महत्व बढिरहेको लुक्लाका तोयाकुमार श्रेष्ठले बताउनुभयो । काठमाडौँबाट जहाजमार्फत लुक्ला .ओर्लिने पर्यटक यहाँबाट पदमार्ग हुँदै उकालो लाग्ने गर्छन् ।
यसभन्दा माथि सञ्चालनमा रहेका अन्य विमानस्थल नभएकाले खुम्बु भ्रमणका लागि हवाईमार्ग रोज्ने हरेक पर्यटकले यही विमानस्थल प्रयोग गर्नुपर्ने बाध्यता छ । खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लामा सरएडमण्ड हिलारीको सहयोगमा सन् १९६० मा निर्माण गरिएको यस विमानस्थल विसं २०६४ पुसमा तेन्जिङनोर्गे शेर्पा र सरएडमण्ड हिल्लारीको सम्मानमा उनीहरूकै नामबाट नामकरण गरिएको थियो । लुक्ला बजारको तलपट्टि पहाडको काखमा अवस्थित यस विमानस्थल समुद्री तहबाट दुई हजार आठ सय मिटरको उचाइमा अवस्थित छ ।
यस विमानस्थलको धावनमार्गको लम्बाइ चार सय ६० मिटर अर्थात् एक हजार पाँच सय फिट रहेको जनाइएको छ । ‘हिस्ट्री च्यानलको मस्ट एक्स्ट्रिम एयरपोर्ट र्याङ्किङ’मा लुक्ला विमानस्थल विश्वकै डरलाग्दो विमानस्थलको सूचीमा समावेश गरेको छ । जसलाई अन्तर्राष्ट्रिय वेबसाइड ‘प्राइभेटफ्लाइ डटकम’ले सूचीकृत गर्दै विश्वभरका रोमाञ्चक अनुभुति दिने विमानस्थलको आठौँ स्थानमा सूचीकृत गरेको छ ।
यस विमानस्थलमा उडान तथा अवतरणका लागि मौसम नै प्रमुख चुनौती हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उमेशकुमार पन्थी बताउनुहुन्छ । भिरको काखमा रहेको र छिनछिनमा यहाँको मौसममा फेरबदल भइरहने भएकाले उडान र अवतराणमा चुनौती थपिने गरेको उहाँ बताउनुहुन्छ ।
यद्यपि, पर्यटकीय विमानस्थल भएकाले यामका बेला एकैदिन एक सयभन्दा बढी हवाई उडान हुने गरेको प्राधिकरणको तथ्याङ्क छ । सगरमाथा क्षेत्र पुग्ने पर्यटक यही विमानस्थलमा ओर्लिएर उकालो लाग्ने भएकाले यसको महत्व र व्यस्तता बढेको स्थानीय जानकार बताउँछन् ।