काठमाडौं । नेकपा (माओवादी केन्द्र) का राष्ट्रियसभा सांसद श्रीकृष्णप्रसाद अधिकारीले संवैधानिक विधि, प्रक्रिया मिचेर प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भनेर दबाब दिने कांग्रेस, एमालेको रबैया अनैतिक र अराजक भएको बताउनुभएको छ ।
आइतबार साँझ सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउनु हुँदै सांसद अधिकारीले संवैधानिक प्रक्रियाअनुसार विधिसंगत रूपमा प्रधानमन्त्री पुष्पकमल दाहालले सदनबाट विश्वासको मत लिने प्रस्ट्याउनुभएको हो । 'संवैधानिक विधि, प्रक्रिया मिचेर प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भनेर दबाब दिने रबैया अनैतिक र अराजक छ,' उहाँले लेख्नुभएको छ, 'गठबन्धनबाट एउटा दलले समर्थन झिकेको स्थितिमा संवैधानिक प्रक्रियाअनुसार विधि संगतरूपमा सम्माननीय प्रधानमन्त्रीले सदनबाट विश्वासको मत लिनुपर्छ। लिनुहुन्छ । सदनबाट विश्वासको मतको सामना गर्नु हुन्छ । कांग्रेस एमालेका माननीय साथीहरू नहतारिए हुन्छ ।'
माओवादीले संविधान, विधि, प्रक्रिया पद्धतिको संवैधानिक बाटो चिनेको उल्लेख गर्नुहुँदै सांसद अधिकारीले कांग्रेस, एमालेले गरेको भनिएको रहस्यमय सम्झौताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने ठोकुवा गर्नुभयो ।
'माओवादीले संविधान चिनेको छ । विधि, प्रक्रिया पद्धतीको संवैधानिक बाटो चिनेको छ । एमाले, कांग्रेसले मध्यरातमा कसैको घरमा गुपचुप बसेर बाहिर सार्वजनिकसम्म गर्न नसकेको रहस्यमय सम्झौता गरेको छ भन्दैमा संविधान र संवैधानिक विधि प्रक्रिया नै मिचेर प्रधानमन्त्रीले राजीनामा दिन पर्दैन,' उहाँको तर्क छ ।
सत्तासाझेदार प्रमुख दल एमालेले समर्थन लिइसकेपछि प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनु पर्ने प्रतिपक्ष र विश्वासको मत लिने सत्तापक्षको अडानले राजनीतिक माहोल तातिरहेको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा पनि दुवै पक्षका सांसदहरुबीच जुहारी नै चल्यो ।
प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते विश्वासको मत लिने जानकारी संघीय संसद्लाई जानकारी गराइसक्नुभएको छ ।