काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २८ गते त्रिशूलीमा भएको बस दुर्घटनाबारे सदनलाई जानकारी गराउनुभएको भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तरको जवाफ दिँदै उहाँले उक्त दुर्घटनामा परेर हराएकामध्ये हालसम्म २५ जनाको शव फेला परेको जानकारी दिनुभयो ।
“फेला परेकामध्ये १८ जनाको सनाखत भएको छभने सातजनाको सनाखत हुन बाँकी छ । आजको मितिमा नेपाली सेना १४, नेपाल प्रहरी ५६ र सशस्त्र प्रहरी बल नेपालका एक सय २६ जना सुरक्षाकर्मीले खोजी कार्य गरिरहेका छन्भने यही साउन ५ गतेदेखि १२ जना भारतीय गोताखोरहरू समेत परिचालन गरिएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले शवहरु बगेर भारतीय भूमिमा समेत पुगेको अनुमान गरिएकाले भारतको पश्चिम चम्पारनस्थित स्थानीय प्रशासनमार्फत शव खोजीका लागि भारतीय दूतावासमार्फत अनुरोध गरिएको बताउनुभयो । चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र भारतीय भूमिमा गरी हालसम्म २५ शव फेला परेका बताउँदै उहाँले बस दुर्घटना भएको स्थल र सोको आसपासको क्षेत्रलाई मुख्य केन्द्रविन्दु बनाई खोजी कार्य गरिएको उल्लेख गर्नुभयो ।
नदीले बगाएका शवहरु भेटिन सक्ने सम्भावित स्थलहरु चितवन, नवलपसारी पूर्व, नवलपरासी पश्चिम र भारतको पूर्वी चम्पारनसम्म खोजी कार्य भइरहेको प्रधानमन्त्री ओलीले जानकारी गराउनुभयो । “धमिलो पानी, नदीमा जलसतको उच्च गति र ३०–४० मिटर गहिरो नदीका कारण खोजी कार्यमा अपेक्षित सफलता मिल्न सकेको छैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “उपलब्ध प्राविधिक उपकरण, जनशक्तिको सम्पूर्ण सामथ्र्य प्रयोग गरी सुरक्षा निकाय परिचालन, स्थानीय प्रशासनद्वारा स्थानीय नागरिकको सहयोगमा खोजी कार्यलाई निरन्तरता दिइएको छ ।”
सार्वजनिक यातायात तथा सडक सुरक्षा सुनिश्चित गर्न सरकारले सडक सुरक्षा विधेयकको तयारी गरी अन्तिम रुप दिने चरणमा रहेको जनाउँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय यातायात नीति हालै मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पेस भएको बताउनुभयो ।
सडक सुरक्षाको संवेदनशीलता र यसमा सम्बन्धित क्षेत्रका सरोकार भएकाहरूको आबद्धता जरुरी भएकाले राष्ट्रिय सडक सुरक्षा परिषद्लाई कानुनबमोजिम व्यवस्थित गरी प्रभावकारी कार्यान्वयन गर्ने गरी नीतिगत तथा कानुनी व्यवस्था गरिने उहाँले उल्लेख गर्नुभयो । फरक प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले एमसिसी सम्झौताअनुरूप ट्रान्समिसन लाइन, सबस्टेसन तथा सडक स्तरोन्नतिका आयोजना तोकिएको समय पाँच वर्षभित्रै सम्पन्न गर्ने गरी कार्ययोजना स्वीकृत भई सोही अनुसार काम अगाडि बढेको जानकारी गराउनुभयो ।
आयोजनाको सबस्टेसन निर्माणका लागि ठेक्का सम्झौतासमेत भइसकेको उल्लेख गर्दै उहाँले ट्रान्समिसन लाइनको सम्बन्धमा एउटा खण्डको ठेक्का सम्झौता हुने चरणमा पुगेको र बाँकी काम तीव्र रूपमा अगाडि बढिरहेको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले एमसिसीबाट प्राप्त हुने अमेरिकी डलर पाँच सय मिलियन बराबरको रकम सम्झौता अवधिभित्र पूरै उपयोग गर्नेगरी वित्तीय योजना ढाँचा कार्यान्वयन हुने उल्लेख गर्नुभयो ।
उहाँले प्रस्तुत आयोजना सम्पन्न भएपश्चात् नेपालको ऊर्जा क्षेत्रको विकासमा विशेष योगदान पुग्ने भन्दै यसले सडक स्तरोन्नतिमा नयाँ प्रविधि हस्तान्तरण हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।