सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका नमुना कामकै कारण देशकै उत्कृष्ट पालिकाको रुपमा दर्ज भएको छ । मरिणले आर्थिक वर्ष २०७९/०८० मा वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ९७.५ अर्थात् सर्वोत्कृष्ट अंक प्राप्त गरी देशभरका ७ सय ५३ स्थानीय तहमध्ये प्रथम हुँदै न्यून वित्तीय जोखिमको सूचीमा नाम दर्ज गराउन सफल भएको हो ।
यस्तै स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा (लिसा) मा ९४.७५ सर्वोत्कृष्ट अङ्क प्राप्त गरी सुशासनको मामिलामा अब्बल साबित भइसकेको छ । पालिकालाई यो तहमा पुर्याउने मुख्य भूमिका नेतृत्वको हुन्छ । मरिणमा नेकपा (माओवादी केन्द्र) का युवा नेता विमर्श मुक्तान 'प्रख्यात' अध्यक्ष हुनुहुन्छ । उहाँको भिजन र मिसनका कारण सुरुआती वर्षदेखि नै उत्कृष्टता हासिल गर्दै आएको मरिणले चालु आर्थिक वर्षमा पनि जनप्रिय योजना र कार्यक्रमलाई अघि सारेको छ । के-के छन् सुनौला कार्यक्रम ?
किसानलाई पेन्सन दिनुपर्छ भन्ने विषय केन्द्र सरकार र देशभरि केही वर्षदेखि नै चलेकै थियो । राज्यका सम्बन्धित निकायमा पुग्ने नेतृत्वको अक्षमता र बेवास्ताका कारण कार्यान्वयन हुन सकिरहेको छैन । तर मरिण गाउँपालिकाका नेतृत्वले भने किसानको हितअनुकूल पेन्सन दिने भएको छ ।
अध्यक्ष विमर्श मुक्तान 'प्रख्यात'ले मरिणका किसानले यसै आर्थिक वर्षदेखि पेन्सन पाउने बताउनुभएको छ । ‘हिलो माटोमा खेल्दै गर्दा सुकिला, मुकिलाले घृणा गर्छन् । माटोमा काम गर्नेहरुलाई सम्मान र हौसलाको लागि किसान पेन्सन कार्यक्रम अघि सारेका छौं,’अध्यक्ष 'प्रख्यात'ले भन्नुभयो, 'किसान पेन्सन वितरणका लागि हाल कार्यविधि निर्माणको काम भइरहेको छ । यो आर्थिक वर्षभित्रै किसानले पेन्सन पाउनेछन् ।
मरिणको अर्को लोकप्रिय कार्यक्रम हो, अतिविपन्न नागरिकलाई घर । ‘मरिण गाउँपालिका अध्यक्ष विपन्न नागरिक सुरक्षित आवास’ कार्यक्रम यस आर्थिक वर्षबाट पालिकाभित्रका नागरिकलाई घर निर्माण गरिदिने योजना अघि सारिएको हो ।
सन्तान र घरजग्गा केही नभएका अति विपन्न नागरिकलाई पालिकाले घर निर्माणपछि हस्तान्तरण गर्ने छ । घरनिर्माण कार्य यसै आर्थिक वर्षदेखि सुरु हुने छ भने ५० लाख बजेट पनि विनियोजन भइसकेको अध्यक्ष 'प्रख्यात'ले बताउनुभयो । जग्गा भएको नागरिकलाई घर निर्माण गरिदिने छ भने जग्गा नै नभएका नागरिकलाई दुवे व्यवस्था पालिकाले गरिदिने छ । यस वर्ष १० देखि १५ वटा घर निर्माण गरेर वितरण गर्ने योजना मरिणको छ ।
'पालिकाभरि सय जना यस्ता परिवार छन् कि भन्ने अनुमान गरिएको छ,' अध्यक्ष मुक्तानले भन्नुभयो । उहाँले आफ्नै कार्यकालमा घर नभएका अति विपन्न नागरिकले घर पाउने विश्वास दिलाउनुभएको छ ।
नागरिकलाई गाँस, बास, कपासका साथै अत्यावश्यक हुन्छ, स्वास्थ्य उपचार । मरिणका अशक्त विपन्न नागरिकलाई स्वास्थ्य उपचारका लागि गाउँपालिकाले चालु आर्थिक वर्षदेखि नै अनुदान प्रदान गर्ने छ ।
अध्यक्ष मुक्तानका अनुसार मरिणका अशक्त विपन्न नागरिकले रोगको प्रकृतिअनुसार पाँच हजारदेखि २५ हजारसम्म स्वास्थ्य उपचारमा अनुदान पाउने छन् । यो नीति पनि यसै आर्थिक वर्षदेखि लागू भइसकेको छ ।
- जनयुद्धका सहिद परिवारलाई मासिक भत्ता
खासगरी नेपालमा नयाँ व्यवस्था ल्याउने आन्दोलनमध्ये तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धको ठूलो देन छ । जनयुद्धमा हजारौं नागरिकले प्राणको आहुति दिए भने हजारौं घाइते, अपांगता भएका र बेपत्ता छन् । उनीहरुका योगदानका कारण मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको हो ।
परिवर्तनका लागि भएका आन्दोलनको सम्मानस्वरुप मरिण गाउँपालिकाले जनयुद्धका सहिद परिवारलाई मासिक दुई हजारका दरले भत्ता प्रदान गरिने भएको छ । त्यसका लागि पनि कार्यविधि निर्माण प्रक्रिया अघि बढेको अध्यक्ष मुक्तानले बताउनुभएको छ ।
यस्तै सहिद परिवारका बालबालिकालाई अध्ययन गराउनुका साथै छात्रावृत्तिका कार्यक्रमहरु पनि मरिणले निरन्तर रुपमा संचालन गर्दै आइरहेको छ ।
भन्न त देश विकास र परिवर्तनका संवाहक युवा भनिन्छ । तर ती संवाहकहरुले अझै देश निर्माणमा लाग्ने अवसरका रुपमा रोजगारी र व्यवसाय गर्ने वातावरण देशभित्रै पाउन सकेका छैनन् । मरिणले युवाको सल्लाह, सुझावलाई प्राथमिकतामा राखेर योजना निर्माण र कार्यान्वयन गर्ने नीति लिएको छ ।
पालिकाले चालु आर्थिक वर्षको बजेट र नीति कार्यक्रममार्फत ‘युवासँग मरिण सरकार’ भन्ने योजना ल्याएको छ । अध्यक्ष मुक्तानले युवासँग भेटघाट, अन्तरक्रिया, सुझाव, सल्लाह पनि पालिकाले लिने बताउनुभयो । उहाँका अनुसार आवश्यक र उपयुक्त सुझाव आएको खण्डमा मरिणको विकासमा लागू गरिने छ ।