काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा दुई दिने वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । दुई दिने वृहत शिविरमा एक हजार ९ सय ७७ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । शिविरमा विशेषज्ञ चिकित्सक सहित ६० जना स्वास्थ्यकर्मीहरूले सेवा प्रदान गर्नुभएको थियो ।
शिविरको पहिलो दिन भदौ २८ गते ३ सय ८७ पुरुष र ८ सय ८० जना महिलाको स्वास्थ्य परिक्षण गरिएको थियो ।
यस्तै भदौ २९ गते ४३२ जना महिला र २९८ जना पुरुषले स्वास्थ्य परिक्षण गराएको पालिकाको स्वास्थ्य शाखाका मीन अछामीले जानकारी दिनुभयो ।
निःशुल्क स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नशा सम्बन्धी रोग, जनरल मेडिसिन सेवा, स्त्री तथा प्रसुती, छाला, दाँत, बालरोग, आँखा, फिजियोथेरापी, भिडियो एक्सरे, फेमिली मेडिसिन, ल्याब, साधारण शल्यक्रिया लगायत १७ प्रकारका सेवा प्रदान गरिएको थियो ।
पालिकाको स्वास्थ्य शाखाका अनुसार धेरै सेवा जनरल मेडिसिनमा लिएका छन् झण्डै ६ हजार नागरिक सहभागी भएका थिए । यस्तै सेवा लिएका मध्ये हाडजोर्नी तथा नशा र आँखा परिक्षण गराउँनको सङ्ख्या पनि धेरै रहेको थियो ।
शिविर गोलन्जोर गाउँपालिका, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निजामती कर्मचारी अस्पताल काठमाडौंको सयुक्त आयोजना ,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा सम्पन्न भएको हो । स्थानीय सरकारको सक्रियतामा गाउँमा विभिन्न प्रकारका निःशुल्क स्वास्थ्य सेवा लिन पाउँदा नागरिकले खुशी व्यक्त गरेका छन् ।