सिन्धुली । स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रीम व्यवस्थापन गर्दै बित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो । समस्त नेपाली नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने भनिएको छ ।
नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई निशुल्क र सामाजिक सुरक्षाको हक प्रदान गरेको छ । वर्तमान संविधानको धारा ५१ (ज) मा नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीति अन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने उल्लेख छ ।
पछिल्लो समय बिमाको महत्व बुझ्नेको सङ्ख्या पनि बढ्दै गइरहेको छ । स्वास्थ्य बीमा गराउँने नागरिकले उपचार झन्झटिलो र सहज नभएको गुनासा पनि गर्दै आईरहेका छन् । यि विविध समस्याका बिचमा पनि जसो तसो स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइनै रहेको थियो ।
नागरिकको सहजता र सेवाको लागि नै ल्याइएको स्वास्थ्य बीमा कार्यक्रममा बजेट विनियोजन नहुँदा निकै समस्या बढ्दै गइरहेको छ । नागरिकको गुनासो मात्रै होइन अब अस्पताल प्रशासनकै गुनासो आउँन थालेको छ ।
यस्तै एक उदाहरण हो सिन्धुली जिल्ला अस्पताल ।
यस अस्पतालमा गएको पुष महिनादेखि स्वास्थ्य बीमाको बजेट विनियोजन भएको छैन् । बजेट विनियोजन समयमा नुहँदा अस्पताल प्रशासनले धेरै समस्या झेल्नु परेको छ । बीमा कार्ड बोकेर आउँने नागरिकलाई अस्पताल प्रशासन उधारो र ऋण काटेर सेवा दिन बाध्य भएका छन् ।
यो १० महिना सम्म जसोतसो सेवा प्रदान गरे पनि सिन्धुली अस्पतालका सूचना अधिकारी राज कुमार गोले बजेट विनियोजन नहुँदा सेवा निरन्तरतामा समस्या देखिन थालेको बताउँनुहुन्छ ।
गोले भन्नुहुन्छ ‘गत वर्षको पुष देखि स्वास्थ्य बीमाको बजेट आएको छैन्, अस्पतालको पैसाले स्वास्थ्य बीमा गरेका नागरिकलाई सेवा प्रदान गर्दै आएका थियौ, तर यो महिना देखि अब नसकिने अवस्थामा पुगियो ।’
बीमा बोर्डबाट रकम विनियोजन भए पछि अस्पतालको ऋण तिर्ने सोचका साथ अस्पताल प्रशासनले नागरिकलाई सेवा प्रदान गर्दै आइरह्यो, झण्डै साढे ३ करोड ऋण पुगेको छ ।
नागरिकलाई सेवामा समस्या नहोस भन्दै अस्पतालको बजेट बीमामा दिदा यता अस्पताल भने यो महिना देखि कर्मचारीलाई कसरी तलब खुवाउँने भन्ने ठूलो समस्यामा परेको छ ।
पटक– पटक स्वास्थ्य बीमा बोर्डमा कल गर्दा आउँछ मात्रै भन्ने तर बजेट नआएपछि साउन महिना देखि फोन कलनै गर्न छाडेको अस्पतालले जनाएको छ । अब पनि बीमाको बजेट विनियोजन नगर्ने हो भने बीमा बाट नागरिक प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सेवा बन्द हुने अवस्थामा देखिएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम सिन्धुलीका संयोजक
स्वास्थ्य बीमा कार्यक्रम सिन्धुलीका संयोजक रमेश कुमार घिमिरेले पनि समयमा बजेट विनियोजन नुहँदा बीमा कार्यक्रम मार्फत सेवा दिन समस्या भएको स्विकार्नुभयो । सकेसम्म समयमै भुक्तानीको लागि केन्द्रमा पहल भइरहेको उहाँ बताउनुहुन्छ ।
संयोजक घिमिरेले बीमा बोर्ड केन्द्रको कार्यकारी निर्देशकसँग बुझ्दा दशैं अघि बजेट पठाईने आश्वास दिनुभएको बताउँनुभयो । यता अस्पताल प्रशासन भने अबको केही समय भित्र भुक्तानी नहुँने हो भने बीमाको सेवालाई निरन्तरर्ता दिन नसकिने बताएको छ ।