काठमाडौं । तामाङ समुदायको विश्वव्यापी साझा मञ्च अन्तर्राष्ट्रिय तामाङ परिषद्को काठमाडौंमा विज्ञ भेला सुरु भएको छ ।
विषयगत समितिहरुको दुई दिने भेला शनिबार बौद्धस्थित एक होटलमा वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री लामाले विश्वभरका तामाङहरु भावनासहित एकता गर्नका लागि भेलाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । साथै तामाङ भाषाको लिपीको सन्दर्भमा जारी विवाद समाधान गर्नुपर्ने उहाँको जोड थियो ।
परिषद्का संस्थापक अध्यक्ष परशुराम तामाङले भन्नुभयो ‘लिपीको सन्दर्भमा हामीले एकमतका साथ निर्णय गरिसकेका छौँ, संस्थागत निर्णयका बारेमा हामी एकमत छौँ, यसमा कुनै विवाद छैन ।’
नेपाल तामाङ घेदुङले व्यवस्थापन गरेको विज्ञ भेलामा ९ देशका प्रतिनिधिहरुको भौतिक उपस्थिति रहेको र १५ देशका प्रतिनिधिले भर्चुअल माध्यमबाट सहभागिता जनाउने आयोजकले जनाएको छ ।
‘विश्वका तामाङहरु एक हौँ, तामाङ सभ्यताको प्रवर्द्धन र विकास गरौँ’ भन्ने मूल नारासहित सुरु भएको विज्ञ भेलामा विभिन्न समितिहरुको विज्ञहरुबीच विचार मन्थन हुनेछ । शनिबार नै समूहगत छलफल गरिएको छ ।
परिषद्को संस्कृति पुनः उत्थान समिति, तामाङ कला, सँस्कृति, साहित्य तथा इतिहास लेखन समिति, तामाङ मानवअधिकार प्रवर्द्धन समिति, भाषा, लिपि तथा शिक्षा प्रवर्द्धन समिति, अध्ययन, अनुसन्धान तथा क्षमता अभिवृद्धि समिति र अन्तर्राष्ट्रिय उच्च स्तरीय तामाङ पञ्चाङ्ग समिति रहेका छन् ।
कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषद्का संस्थापक अध्यक्ष परशुराम तामाङ, पूर्वअध्यक्षहरु, सल्लाहकार, कार्यसमिति पदाधिकारी, सदस्य, तामाङ घेदुङका पदाधिकारी, सदस्य, विभिन्न क्षेत्रका बुद्धिजीवी, सामाजिक अगुवा, लामागुरु, ताम्बा गुरुङ, बोन्बो गुरुहरुलगायतको उपस्थिति थियो ।