घलेभन्ज्याङ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संघीय सांसद हितबहादुर तामाङले नुवाकोट क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भए आफ्नै पहलमा विकास योजना ल्याउन कांग्रेस नेतालाई चुनौती दिनुभएको छ ।
माओवादी केन्द्र पञ्चकन्या गाउँपालिकाको तेस्रो सम्मेलनलाई सोमबार घलेभन्ज्याङमा सम्बोधन गर्नुहुँदै उहाँले पटकपटक मन्त्री, सांसद बनेर केही नगरेकाले अब चुनाव लड्न योजनासहित जनतामाझ आउन सांसद प्रकाशशरण महतलाई चुनौती दिनुभएको हो । नुवाकोट-१ बाट निर्वाचित संघीय सांसद तामाङले आफू पहिलो पटक जित्दाताकासमेत नुवाकोटमा विकासका पूर्वाधार लगायतमा बिजोक स्थिति रहेको उल्लेख गर्दै २०७४ पछाडि माओवादीको कारण यस क्षेत्रमा विकास भएको दाबी गर्नुभयो ।
०७४ मा जितिसकेपछि बजेट नछरि सांसद विकास कोषबाट आफूले गुर्जेभन्ज्याङ-छहरे सडकमा १० करोड रुपैयाँ बजेट हाल्न लगाएपछि स्तरोन्नति भएको, गुर्जे-मानेभन्ज्याङ सडक, मध्यपहाडी लोकमार्गको काम आफूहरुकै पहलमा भएको उल्लेख गर्नुहुँदै सांसद तामाङले केही योजना ल्याएर मात्र चुनावी मैदानमा आउन सुझाव दिनुभयो ।
'उहाँ (प्रकाशशरण महत) ले यहींबाट चुनाव लड्ने भन्नु भएको सुनेको छु । पहिले आफैंले पहल गरेर नयाँ योजना, काम गरेर देखाउनु अनि चुनाव लड्नुस्,' उहाँले भन्नुभयो ।
गंगटे-गोल्फुभन्ज्याङमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा आफूहरुकै पहलमा पारिएको बजेटलाई आफूले हालेको भनेर सांसद महत तेस्रो पटक शिलान्यास गर्न गएको विषय हास्यास्पद रहेको उहाँले टिप्पणी गर्नुभयो ।
नुवाकोटबाट पञ्चायतकालदेखि नै अर्थमन्त्रीहरु बनिरहे पनि विकास हुन नसकेको उल्लेख गर्दै जब माओवादी आयो, त्यसपछि विकासले गति लिएको उहाँको भनाइ छ । आफूले सोचेजसरी र जनताको अपेक्षाअनुसार अझै धेरै काम गर्नुपर्ने बाँकी रहेको सांसद तामाङले बताउनुभयो ।
महतले नेपाल तरुण दलले गत शनिबार घ्याङ्स्वाँरामा आयोजना गरेको वनभोज कार्यक्रममा सम्बोधन गर्दै नुवाकोटबाट चुनाव लड्ने घोषणा गर्नुभएपछि तामाङले जवाफ फर्काउनु भएको हो ।
सांसद विमला सुवेदी, नेताहरु ईश्वरचन्द्र ज्ञवाली, हिरानाथ खतिवडालगायतले पनि माओवादी केन्द्रका नेताहरु हितबहादुर तामाङ, राधिका तामाङ, तेजबहादुर तामाङलगायत यस क्षेत्रमा जितेकाले जनताले विकासको अनुभूति गर्न पाएको उल्लेख गर्नुभयो ।