धरान । नेपाली कांग्रेसले थारु समुदायको माघी पर्व र मगर समुदायको मिनाम सार ल्हेस पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान–प्रदान र चियापान कार्यक्रम आयोजना गरेको छ । नेपाली कांग्रेस, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, सुनसरीका सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बराहक्षेत्र नगरपालिकाको ४ नं. वडा स्थित तल्लो जमटोकीमा कार्यक्रम भएको हो ।
कांग्रेसको क्षेत्र नं. १, सुनसरीले गत वर्षदेखि दशैं, तिहार, छठ, नेपाल सम्वत् र तीजमा जस्तै विभिन्न आदिवासी जनजाति, मधेशी, मुस्लिम लगायतका समुदाय र धर्मवलम्वीहरुको चाडपर्व र उत्सवहरुमा पनि शुभकामना आदान–प्रदान, चियापान र सांस्कृतिक कार्यक्रम लगायत विविध गतिविधिहरु गरेर मनाउन थालेको छ ।
नेपाल बहुभाषिक, वहुधार्मिक र बहुसांस्कृतिक देश भएको तथा देश झैं दलपनि जनताको साझा नै हुने हुंदा हरेक नेपाली समुदायको मौलिक एवम् परम्परागत चाड, पर्व, उत्सव, धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्ने तथा मनाउने र यसका माध्यमवाट समाजमा भाइचारा, एकता, सद्भाव र सहिष्णुता वृद्धि गर्ने मुख्य दायित्व राजनीतिक दलको पनि उत्तिकै भएको भन्दै यसैका निम्ति विविध कार्यक्रम गरी सबैको चाडपर्व मनाइएको क्षेत्रीय सभाति सुजेन्द्र तामाङले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाले जातजाति, भाषाभाषी र धर्मवलम्वीहरुको विभिन्न चाडहरुलाई मनाउने कार्य शुरु गरेर क्षेत्रीय समितिले प्रशंसनीय कार्य गरेको बताए । उनले अहिले कांग्रेस र एमालेको गठबन्धन सरकार भएकाले आगामी बजेटमा विकास निर्माणका योजनाहरु के कस्ता छन् प्रकृयागत रुपमा पेश गर्न सुचित गर्दै क्षेत्र नं. १ सुनसरीलाई उच्च प्राथमिकतामा राखेर आफुले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
विशिष्ट अतिथि नेपाली कांग्रेसका जिल्ला सभापति एवम् ईनरुवा नगर प्रमुख केदार भण्डारीले कांग्रेसको १ नं. क्षेत्रीय कार्यसमितिले महामानव वी.पी. कोइरालाले भने बमोजिम जनता र समुदायको मन छुने कार्य गरेको बताए ।
अर्का वक्ता नेपाली कांग्रेसका जिल्ला सचिव माधव घिसिङले, बराहक्षेत्र नगर प्रमुख तथा सभापति रमेश कार्कीले, महासमिति सदस्य श्यामा रेग्मी, महासमिति सदस्य जगत कार्की लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन क्षेत्रीय सहसचिव सुमित राईले गर्नुभएको थियो ।