काठमाडौं । माध्यमिक विद्यालय तह कक्षा ९ को अनिवार्य नेपाली विषयको पाठ्यक्रममा तामाङ समुदायको लोकबाजासम्बन्धमा भएको त्रुटि सच्याएर पुन: प्रकाशन गर्ने निर्णय भएको छ ।
'हाम्रो लोकबाजा पाठ'मा तामाङ समुदायको मौलिक र सांस्कृतिक बाजालाई मगर समुदायको भनी उल्लेख गरिएको विषयमा नेपाल तामाङ घेदुङका प्रतिनिधि र पाठ्यक्रम विकास केन्द्र महनिर्देशक इमनारायण श्रेष्ठसहितका प्रतिनिधिबीच बिहीबार बैठक बसी त्रुटि सच्याएर पुस्तक पुन: प्रकाशन गर्ने निर्णय भएको हो ।
'पाठ्यक्रम विकास केन्द्रको महानिर्देशक सहितको प्रतिनिधि र तामाङ घेदुङको प्रतिनिधि बीच आज मिति २०८१/१०/१० गतेको बैठकबाट उक्त निर्णय भएको हो । यस कार्यको लागि पहल लिनु हुने नुवाकोट घेदुङ र अध्यक्ष विरबहादुर तामाङलाई विशेष धन्यवाद,' वाग्मती प्रदेश सांसद राधिका तामाङले भन्नुभयो,'यसअघि नुवाकोट घेदुङले नुवाकोट सीडीओमार्फत ध्यानाकर्षण गराएको थियो । यो महत्त्वपूर्ण कार्यको समन्वय गर्ने जिम्मेवारीका लागि कृतज्ञ छु ।'
निर्णय १- मगर जातिको अमूल्य निधिको रुपमा उल्लेख गरिएको डम्फु बाजा र राई किराँत जातिको बाजा भनी उल्लेख गरिएको टुङ्ना बाजालाई तामाङ जातिको अमूल्य निधिको रुपमा उल्लेख गर्ने निर्णय गरियो ।
निर्णय २- तामाङ जातिको बाजा भनी उल्लेख भका ग्यापुङ सरुङ्गे र सिनडुङ बाजालाई कक्षा ९ अनिवार्य नेपाली विषयको हाम्रो लोकबाजा पाठबाट हटाउन निर्णय गरियो ।
निर्णय ३- उल्लेखित निर्णय सम्बोधन गरेर तत्तकाल सिआरसी सच्च्याउने र परिमार्जित पाठ्यपुस्तक र बेवसाइटमा राख्ने र
निर्णय ४- नयाँ शैक्षिक वर्ष २०८२ मा कक्षा ९ को अनिवार्य नेपाली विषयमा रहेको हाम्रो लोकबाजा भन्ने पाठ परिमार्जनसहित प्रकाशित गर्ने निर्णय गरियो ।
सांसद तामाङले यसअघि अदालतमा तामाङ भाषाबाट बयान दिन पाउनु पर्ने माग राखि तामाङ घेदुङ नुवाकोटले पहल थालेपश्चात् हाल नेपालभर कार्यान्वयनमा रहेको समेत स्मरण गराउनुभएको छ । बिहीबारको बैठकमा पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठ, योजना शाखा निर्देशक वासुदेव वस्ती, भाषा, शिक्षा सामाजिक शाखा निर्देशक दिननाथ गौतम, नेपाली भाषा अधिकृत कुमार घिमिरे, नवीन खड्का उपस्थित हुनुहुन्थ्यो ।
यस्तै घेदुङको तर्फबाट घेदुङका सल्लाहकार राधिका तामाङ (वाग्मती प्रदेशसभा सदस्य), शान्ति पाख्रीन (सभासद्), उपाध्यक्ष मानबहादुर तामाङ, उपमहासचिव सरोजमोहन मोक्तान, सचिव जयमान वाइबा, भाषा लिपि प्रमुख हिरालाल तामाङ, केन्द्रीय सदस्य उषा वाइबा, नुवाकोट घेदुङ अध्यक्ष वीरबहादुर तामाङ, तामाङ राष्ट्रिय मुक्ति मोर्चा नुवाकोट अध्यक्ष सोमबहादुर तामाङ, ज्वाला तामाङ भक्तपुर जिल्ला सचिव घेदुङ सहभागी हुनुहुन्थ्यो ।