नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकाको घलेगाउँमा चैत ३० गते चर्चित गायक रामहरि भण्डारी र गायिका मिना लामाबीच दोहोरी गीत घम्साघम्सी हुने भएको छ ।
दोस्रो संस्करणको ‘पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड प्रतियोगिता–२०८१’ को अवसरमा रामहरि र मिनालाई मञ्चमा उतार्ने निश्चित भएको पञ्चकन्या जनकल्याण युवा समाजले जनाएको छ । खेलकुद कार्यक्रमलाई थप आकर्षक बनाउन यस पटक सांगीतिक कार्यक्रमसमेत राखिएको आयोजकले जनाएको छ । कार्यक्रममा गायक रामेश्वर भण्डारी, सुशीलसिंह ठकुरीलगायतले पनि प्रस्तुति दिनुहुनेछ ।
कलाकारद्वय रामहरि र मिनाले आइतबार पञ्चकन्या जनकल्याण युवा समाजको फेसबुक पेजमा लाइभमा आउँदै चैत ३० मा घलेगाउँमा भेट्ने वाचा गर्नुभएको छ । उहाँहरूले कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागि साथ दिन आग्रहसमेत गर्नुभएको छ ।
रामहरि शिवपुरी गाउँपालिका ५ कुख्रेका हुनुहुन्छ । गोल्डेनको सारीमा, हाम्रो घर त नुवाकोट, ड्राइभरको जिन्दगीलगायत थुप्रै गीत गाउनुभएको छ । धादिङकी मिना पछिल्लो पुस्ताकी लाइभ दोहोरी गायनमा राम्रो दख्खल राख्नुहुन्छ । उहाँ तामाङ सेलो गायिका पनि हुनुहुन्छ ।
प्रतियोगितामा पुरुष/महिला खुला १० किमि र पञ्चकन्या पालिकास्तरीय छात्र/छात्रातर्फ ५ किमि दुरीमा दौड हुनेछ । खुला दौडतर्फ पुरुष र महिला दुवैका विजेता खेलाडीले २२ हजार, दोस्रो हुनेले १६ हजार र तेस्रो हुनेले १० हजार पाउनेछन् । ५ किमि दुरीको छात्रछात्रा दौडतर्फ विजेता हुनेले ११ हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ४ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
पञ्चकन्या गाउँपालिकाको कार्यालय लाकुरीभन्ज्याङबाट सुरु हुने दौड ‘घ्याङस्वाँरा सहिद स्मारक पर्यटकीय पार्क’ पुगेर सोही रुट घलेभन्ज्याङ आएर सकिनेछ । पञ्चकन्या–४ मा निर्माण गरिएको घ्याङ्स्वाँरा सहिद स्मारक पार्कको प्रचारप्रसार तथा जनकल्याण शैक्षिक अक्षयकोष स्थापनाको सहयोगार्थ दौड प्रतियोगिता गरिन लागेको समाजका अध्यक्ष टीकाराम तामाङले बताउनुभयो । सोही अवसरमा पञ्चकन्या पालिकाका राष्ट्रिय पदक विजेता खेलाडी सम्मान गरिने कार्यक्रम कार्यक्रम संयोजक एवं संस्थाका कोषाध्यक्ष रामहरि भण्डारीले जानकारी गराउनुभयो । उहाँका अनुसार चैत २० सम्म प्रत्यक्ष र अनलाइनबाट समेत फर्म भर्न सकिने व्यवस्था मिलाइएको छ । फाराम शुल्क खुलातर्फ ५ सय र छात्रछात्राले ३ सय रुपैयाँ तिर्नुपर्नेछ । सहभागीलाई निःशुल्क टिसर्ट र खानाको व्यवस्था गरिनेछ ।