सिन्धुली । हरिहरपुरगढी गाउँपालिकाको वडा नं.८ शारीरिक अपाङ्गता पहिचान तथा स्वास्थ्य परीक्षण घुम्ती शिविर सम्पन्न गरिएको छ । वडा कार्यालय पान्तलेमा वडा अध्यक्ष धनबहादुर मोक्तानको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष चेखबहादुर थिङको उपस्थितीमा शिविरको आयोजना गरिएको थियो ।
गाउँपालिका र विकलाङ्ग मित्र समूह अपाङ्गता बाल अस्पताल तथा पुनस्थापना केन्द्र एचआरडिसी काभ्रेको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष वाइबाले शिविरले शारीरिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरुको स्वास्थ्य परीक्षण र उनीहरुको पुनस्थापनामा सहयोग पुगेको बताउनुभयो ।
एचआरडिसीले गर्दै आएको काम उदाहरणीय भएको भन्दै अझै यस्ता व्यक्तिहरुलाई सेवा प्रदान गर्न सुझाव दिनुभयो ।
यसअघि वडा नं. ६, ७ र ८ निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी १ हजारभन्दा बढी बिरामीलाई सेवा पुर्याएको अध्यक्ष वाईबाले बताउनुभयो ।
स्थानीय सरकार प्रभावकारी स्वास्थ्य सेवा दिन लागिपरेको तर कतिपय नकारात्मक विचार भएका व्यक्तिहरुका कारण सरकारले गरिदिने उपचारमा अविश्वास गर्ने प्रवृत्ति समाजमा रहेको उहाँको भनाइ छ । यस्तो प्रवृत्तिका कारण उपचार गराउनै पर्ने बिरामीसमेत छुट्ने गरेकोले त्यस्तो विकृत सोच हटाउनुपर्नेमा अध्यक्षले जोडदिनुभयो ।
यस्तै गाउँपालिकाका उपाध्यक्ष चेखबहादुर थिङले जन्मजात अपाङ्गता भएका र पछि दुर्घट्ना वा कुनै कारण अपाङ्गता हुन पुगेका बालबालिका तथा व्यक्तिहरुलाई एचआरडिसीले पु-याउँदै आएको मानवीय सेवा प्रशंसायोग्य भएको बताउनुभयो । उहाँले फरक क्षमता भएका बालबालिका तथा व्यक्तिहरुको भविष्य सहज बनाउन गाउँपालिकाले एचआरडिसीसँग सहकार्य गरेर शिविर आयोजना गरिएको बताउनुभयो ।
भर्खरै सम्पन्न गरेको निःशुल्क दन्त तथा आँखा शिविर अत्यन्त प्रभावकारी भएको उल्लेख गर्नुहुँदै उहाँले सरकारले दिने स्वास्थ्य सेवामा विश्वास गर्न आग्रह गर्नुभयो । 


