सिन्धुली । दैनिक पाँच हजार राँगा तथा भैंसीको मासु चीन निर्यातको लक्ष्यसहित सिन्धुलीको मरिण गाउँपालिकामा मासु प्रशोधन फ्याक्ट्री निर्माणको प्रक्रिया अघि बढेको छ।
भैँसी तथा पाडाको मासु चीन निर्यात गर्ने विषयमा नेपाल र चीन सरकारबीच गत वर्षको सम्झौताअनुरुप मरिण ४ साहानमा ५० बिघा जमिनमा फ्याक्ट्री निर्माण कार्य हुन लागेको हो । दुई देशबीचको सम्झौताअनुसार मासु निर्यातका लागि नेपालतर्फबाट हिमालयन फुड इन्टरनेसनल प्रालि र चीनको साङ्घाई जियान फुड प्रालिबीच सम्झौता भएको थियो । सम्झौताअनुसार दैनिक पाँच हजार राँगा तथा भैँसीको मासु (पाँच सय टन) चीन निर्यात गर्नुपर्ने छ ।
हिमालयन फुड इन्टरनेसनल प्रालिका अध्यक्ष डा. नवीन शर्माले भैँसी तथा पाडाको मासु चीनमा निर्यात परियोजना संचालनका लागि विभिन्न कागजी प्रक्रिया, जग्गा मिलाउने कार्यले सम्झौता ढिला गरी कार्यान्वयन हुन लागेको प्रस्ट्याउनुभयो । मरिणमा आगामी भदौदेखि पूर्वाधार निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ । उहाँका अनुसार हाल जग्गा पास गर्नेदेखि फ्याक्ट्री निर्माणको लागि चीनबाट टोली आएर बसेको छ ।
जग्गा हिमालयन फ्रुड प्रालिको नाममा रहन्छ । जसको मुख्य लगानी चीनकै रहेको छ । नेपालको तर्फबाट म्यानेजर शर्मा आफैं हुनुहुन्छ ।
सम्झौताअनुसार आउने डिसेम्बरसम्म काम सकेर एक वर्षभित्र मासु निर्यात गर्नुपर्ने थियो । तर जग्गा बैना, हदबन्दीलगायत धेरै कारणले गर्दा समयमा काम नहुँदा ढिला भएको परियोजनाले जनाएको छ । अबको डेढ वर्षमा मासु प्रशोधनका लागि फ्याक्ट्री निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको परियोजना म्यानेजर शर्मा बताउनुहुन्छ । राँगा, भैंसीको मासु सिन्धुली-काठमाडौं र केरुङ नाका हुँदै चीन पुर्याइने छ ।
यसरी भएको थियो सम्झौता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएकै बेला २०८० असोज ५ गते चीन भ्रमणमा जानुभएको थियो । त्यतिबेला प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर अमेरिकाको न्यूयोर्कबाट सिधै चीन पुग्नुभएको थियो । प्रचण्ड भ्रमणका क्रममा नेपालका राँगा-भैँसीको मासु चीन निर्यात गर्ने प्रस्ताव अघि सारिएको थियो । उक्त प्रस्तावलाई एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुभएपछि २०८१ मंसिर १४ अर्थात् सन् २०२४ को डिसेम्बर ३ मा उहाँ चीन भ्रमणमा जाँदा दुईपक्षीय हस्ताक्षर भएको हो ।
उक्त सम्झौताअनुसार सिन्धुलीको मरिण गाउँपालिकालाई उपयुक्त ठानी मासु निर्यातका लागि पूर्वाधार निर्माण प्रक्रिया अघि बढाइँदै छ ।
मासु निर्यातका लागि खोरेत रोग मुक्त घोषणा गर्नुपर्ने
चीनमा स्वस्थ मासुको माग बढी भएकाले राँगाभैँसीको निरोगिता संवेदनशील विषय बनेको छ । मासु निर्यातका लागि खोरेत रोग मुक्त घोषणा गर्नुपर्ने हुन्छ । जसका लागि २०८२ जेठ महिनामा मात्रै सिन्धुलीको मरिण गाउँपालिका, हरिहरपुरगढी र मकवानपुरको बागमती र बकैयाँ गाउँपालिकालाई खोरेत रोग मुक्त घोषणा गरिसकिइएको छ । यस्तै इलाम जिल्लालाई पनि खोरेत रोग मुक्त घोषणा गरिएको छ ।
म्यानेजर शर्मा भन्नुहुन्छ, ‘खोरेत रोग उन्मूलनमा ढिला भयो । घोषणाको चिठी चाईना पठाउन ढिला भए । चाइनाबाट केही दिनअघि मात्रै लगानी स्वीकृत भएको छ । अब काम निरन्तर अघि बढ्छ ।’ परियोजना सफल भएको खण्डमा ६ हजार नागरिकले रोगजार पाउनेछन् । मासु प्रशोधनको काम सिकाउन सुरुवातमा अनुमानित २ सय चाईनीज हुने छन् । अरु सबै नेपाली हुने परियोजनाले जनाएको छ ।
भैँसी तथा पाडाको मासु निर्यातको लागि चीन सरकारले २७ अर्ब (दुई सय मिलियन) लगानी गरेको छ । त्यसमध्ये फ्याक्ट्री निर्माणका लागि २० अर्ब लाग्ने अनुमान गरिएको छ । बाँकी रकम राँगा, भैंसीपालनका लागि सपोर्ट गरिने छ । यो परियोजनाका लागि नेपालको संघीय सरकारबाट १ करोड ६५ लाख बजेट विनियोजन गरिएको छ ।
चीनको जियान कम्पनीले व्यावसायिक भैँसीपालन, नस्ल सुधार, अन्तर्राष्ट्रियस्तरको वधशाला निर्माण, मासु प्रशोधन हुने उद्योग स्थापनालगायतमा लगानी गर्ने छ । प्रालिले भैँसीका लागि बर्दियाको गुलरियामा घाँस रोप्ने काम सुरु गरेको छ । मुलुकभर रहेका किसानलाई जोड्नलाई भैँसीपालक समूह गठन गरिएको छ ।
नेपालमै जन्मेका भैँसी तथा पाडाको मासुमात्रै चीन निर्यात गरिनेछ । दिनमा पाँच सय टन मासु चीन निर्यात गरिनेछ । राँगा, भैंसीको मासु सिन्धुली-काठमाडौं र केरुङ नाका हुँदै चीन पुर्याइने छ ।
अन्तिम तीन महिना रोग मुक्त क्षेत्रमा पाल्नुपर्ने
नेपालमै जन्मेको राँगा, भैंसीको मासु मात्रै चाइना निर्यात गरिने छ । नेपालको सबै जिल्लामा खोरेत रोग उन्मूलन नभएको हुँदा मासु प्रशोधनमा रोगमुक्त क्षेत्र र रोगमुक्त पाडा भैंसी नै चाहिन्छ । उन्मूलन घोषणा गरेको सीमित स्थानका भैंसी र पाडाबाट मात्रै मासु नपुग्ने भएकोले देशभर जहाँ/जहाँ राँगा तथा भैंसी पाले पनि अन्तिम तीन महिना भने खोरेत रोग मुक्त चारपालिका अथवा इलाममा पाल्नुपर्ने हुन्छ ।
सिन्धुलीको मरिण, हरिहरपुरगढी र मकवानपुरको वाग्मती र बकैयाँ गाउँपालिकामा रोगको परीक्षण, भ्याक्सिन लगाएको र रोगमुक्त पशुमात्रै प्रवेश गर्न पाउने मापदण्ड छ ।
मरिणमा एयरपोर्ट निर्माणका लागि चीनको प्रस्ताव
चीन सरकारले मासु प्रशोधनको लागि फ्याक्ट्री संचालनसँगै नेपाल सरकारको अनुमति पाएमा मरिणमा एयरपोर्ट निर्माण गर्ने कुरा आएको मरिण गाउँपालिका अध्यक्ष विमर्स मोक्तानले जानकारी दिनुभयो । विमानस्थलको लागि हाल मरिणको वडा नम्बर ७ बाह्रबिसेमा जग्गा हेर्ने काम पनि भइसकेको उहाँले बताउनुभयो ।
परियोजनाबाट नेपाललाई के के फाइदा पुग्छ ?
परियोजना संचालनपछि नेपालमा रोजगारी, पशुपालन र राजस्व संकलन वृद्धि हुने अपेक्षा छ । अध्यक्ष विमर्श मोक्तानका अनुसार अन्तर्राष्ट्रियस्तरको परियोजना मरिणमा संचालन हुँदा जिल्ला र पालिकालाई झन् धेरै फाइदा पुग्ने देखिएको छ । लगभग ६ हजार जनासम्मले रोजगारी पाउने सम्भावना रहेकाले स्थानीयस्तरमा देखिएको बेरोजगारीको समस्या समाधान हुने उहाँको आशा छ ।