काठमाडौं । ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले ‘मनको कुरा गरौँ’ नाराका साथ उक्त अभियानको आज यहाँ आयोजित कार्यक्रमको शुभारम्भ गर्नुभयो । उहाँले युवायुवतीमा मानसिक स्वास्थ्य समस्या बढ्दो क्रममा रहेको भन्दै यसलाई नियन्त्रण गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।
उहाँले सबै अस्पतालमा मानसिक स्वास्थ्य परामर्श सेवा पनि उपलब्ध रहेको जानकारी दिनुभयो । उहाँले स्थानीय तहको सरकारसँगको समन्वयमा समुदायमा स्तरमा समुदायमा परामर्शदाता परिचालन गरेर मानसिक स्वास्थ्य सेवा उपलब्ध गराइएको बताउनुभयो । मन्त्री डा गौतमले मानसिक समस्या भएका मानिससँग बोल्ने, मनका कुरा सुन्दिने गर्नुपर्ने भन्दै उहाँले त्यो नगर्दा भित्रभित्रै गुम्सिदै कडा रुप लिन सक्ने बताउनुभयो ।
उहाँले मानसिक स्वास्थ्यको औषधि सबैतिर पाउने गरी विवरण गरिएको बताउनुभयो । उहाँले मानसिक स्वास्थ्य समस्यालाई उजागरण गर्दै निराकरण गर्नका लागि मन्त्रालयका लागिपरेको बताउनुभयो । उहाँले सङ्घअन्तर्गतका सबै अस्पतालमा मानसिक स्वास्थ्य परामर्श सेवा उपलब्ध रहेको जानकारी दिनुभयो । उहाँले मानसिक स्वास्थ्य नीति र रणनीतिको कार्यन्वयनको सुस्त रहेकाले यसलाई प्राथमिकता राखेर काम गर्ने बताउनुभयो ।
मन्त्री डा गौतमले मानसिक स्वास्थ्यमा प्राथमिकता दिएर बढी बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । उहाँले घरबाट टाढा विदेशमा रहेका श्रमिक र फर्केर आएका श्रमिकको मानसिक स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै उनीहरुको मानसिक स्वास्थ्यमा काम गर्नुपर्ने बताउनुभयो । मन्त्रालयका अतिरिक्त सचिव डा श्रीकृष्ण श्रेष्ठले मानसिक स्वास्थ्यलाई प्राथमिकता राखेर काम गरेको जानकारी दिनुभयो ।
उहाँले तीन महिनासम्म मानसिक स्वास्थ्यमा हामी सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले तीन महिनासम्म सञ्चालन हुने अभियानमा मानसिक रोगबारे जानकारी, पारिवारिक तथा सामुदायिक साहारा, भेटघाट, तनाव कम गर्ने मुख्य उद्देश्य रहेको बताउनुभयो । कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा केशरवहादुर ढकालले नेपालमा मानसिक स्वास्थ्य गम्भीर तर पनि पर्याप्त मात्रामा महत्व नपाएको हो ।
उहाँले १० जनामध्ये एक जना जीवनको कुनै न कुनै मोडमा मानसिक स्वास्थ्य समस्या झेल्नुपरेको उल्लेख गर्दैै मानसिक स्वाथ्य व्यक्तिगत नभई जनस्वास्थ्यको आधारभूत समस्या रहेको बताउनुभयो । उहाँले विभागको नेतृत्वमा आधारभूत स्वास्थ्य सेवामा मानसिक सवास्थ्य सेवा प्रदान गर्नुको साथै आवश्यक ठाउँमा निःशुल्क औषधि वितरण गरिरहेको समेत बताउनुभयो । जिल्ला र प्रदेश अस्पतालमा पनि बहिरङ्ग र अन्तरङ्ग सेवा विस्तार गर्न थालिएको समेत उहाँले जानकारी दिनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव अनिता निरौलाले मनको स्वास्थ्य सवल बनाउनका लागि प्रयायाम, मनको कुरा गर्ने अवसर खानपान आहारविहार जीवनशैली, सत्य बोल्ने, पारदर्शि व्यवहार गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो विचार मात्र नभए अरुको विचारलाई पनि कदर गर्नाले मानसिक स्वास्थ्य सवल बनाउने बताउनुभयो ।
उहाँले यसभन्दा अघि शारिरीक स्वास्थ्यमा धेरै लगानी गरेको भन्दै स्वथ्य जीवनशैलीको महत्वपूर्ण अङ्ग मानसिक स्वास्थ्यमा लगानी गर्नुपर्ने बताउनुभयो । मन्त्रालयले आजदेखि फागुनसम्म मानसिक स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले अभियान सञ्चालन गर्न थालेको हो ।