काठमाडौं । नेपालका २६ जना शिक्षकहरु सहभागी यूजी फाइभ Universal Goodness 5 (UG5) सम्बन्धी एक महिने तालिम थाइल्याण्डमा सम्पन्न भएको छ। थाइल्याण्डको धमकाय फाउन्डेसनद्वारा आयोजित उक्त तालिममा काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न विद्यालयबाट ११ जना, रसुवाको कालिका गाउँपालिकाका विभिन्न विद्यालयबाट ५ जना र सिन्धुली जिल्लाको मरिण गाउँपालिकाका विभिन्न विद्यालयबाट १० जना गरि २६ जना शिक्षकहरू सहभागी हुनुहुन्थ्यो ।
२७ नोभेम्बर देखि सुरु भएको तालिमको नेपालका स्थानीय निकायहरूमा अन्तर्राष्ट्रिय सम्बन्ध प्रबर्द्धन सम्बन्धी सेवा प्रदान गर्ने परामर्शदाता संस्था मियामी कन्सल्टेन्सीले समन्वय गरेको थियो ।
समापन कार्यक्रममा नेपाली राजदूतावास बैङ्कक, थाइल्याण्डका उपनियोग प्रमुख तथा मिनिस्टर काउन्सेलर मोतीबहादुर श्रीषको प्रमुख आतिथ्यता तथा सिन्धुली मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानको विशेष आतिथ्यमा तालिमको समापन गरिएको हो ।
अध्यक्ष मुक्तानले तालिमले शिक्षकहरूको पेशागत क्षमता, नैतिक शिक्षा तथा आधुनिक शिक्षण पद्धतिमा दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष मुक्तानले शिक्षकहरू राष्ट्र निर्माणका मुख्य आधार भएको उल्लेख गर्दै, यस्ता अन्तर्राष्ट्रिय तालिमहरूले शिक्षाको गुणस्तर उकास्न मद्दत पुग्ने बताउनुभयो।
साथै, उहाँले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई स्वदेश फर्किएपछि कक्षाकोठामा व्यवहारिक रूपमा लागू गर्न सहभागी शिक्षकहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा सहभागी शिक्षकहरूले तालिम अत्यन्त उपयोगी, प्रेरणादायी तथा व्यवहारिक रहेको प्रतिक्रिया व्यक्त गरेका थिए।
आयोजक संस्था धमकाय फाउन्डेसनले आगामी दिनमा पनि नेपाली शिक्षकहरूको क्षमता विकासका लागि यस्ता अन्तर्राष्ट्रिय तालिम तथा कार्यक्रमलाई निरन्तरता दिने जानकारी गराएको छ।
यस अघि धादिङको खनियाबास गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका विद्यालयहरूका शिक्षकहरूले तालिममा भाग लिइसकेका छन । यस तालिमले शिक्षक र विद्यालयहरूको क्षमता विकासमा योगदान पुग्ने विश्वास लिइएको छ ।



