सिन्धुली । सिन्धुलीको मरिणमा छैटौँ मरिण गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा पुरुषतर्फ वार्ड नम्बर ३ र महिलातर्फ वार्ड नम्बर ४ ले उपाधि हात पार्न सफल भएको छ ।
बुधबार सम्पन्न पुरुषतर्फको फाइनलमा वार्ड नम्बर ३ ले वार्ड नम्बर ७ लाई ५–१ को फराकिलो अन्तरले हराउँदै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
प्रतियोगितामा पुरुष फुटबलको विधातर्फ उत्कृष्ट गोलरक्षक राजन माझी, उत्कृष्ट डिफेन्डर, बिसन मोक्तान, उत्कृष्ट मिडफिल्डर सन्देश थिङ र उत्कृष्ट फरवार्ड राजकुमार माझी बन्नुभयो ।
साथै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने वार्ड नम्बर ३ का सुदीप मोक्तान घोषित हुनुभयो ।
त्यस्तै महिलातर्फको फुटबल उपाधि साविक विजेता वार्ड नम्बर ४ ले हात पार्न सफल भएको छ ।
फाइनलमा वार्ड नम्बर ४ ले वार्ड नम्बर ३ लाई पेनाल्टी सुटआउटमा २–१ ले हराउँदै उपाधि हात पारेको हो ।
त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । त्यसैगरी उत्कृष्ट गोलरक्षक वार्ड नम्बर ४ की कविता माझी, उत्कृष्ट डिफेन्डर सुस्मिता थिङ, उत्कृष्ट मिडफिल्डर सुस्मिता माझी र उत्कृष्ट फरवार्डमा लक्ष्मी लो बन्नुभयो भने प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी गोलरक्षक कविता माझी घोषित हुनुभयो ।
युवा तथा खेलकुद विकास समिति, मरिण गाउँपालिका, सिन्धुलीको आयोजनामा भएको खेलामा विजेता बनेका पुरुष तथा महिला फुटबल टोलीलाई गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले उपाधिसहित नगद ४०– ४० हजार प्रदान गरिएको थियो । उपविजेता दुवै टोलीलाई समान २०– २० हजार सहित ट्रफी, मेडल प्रदान गरिएको थियो ।