सिन्धुली । मरिण गाउँपालिका अन्तर्गत रहेको मरिण आधारभूत अस्पतालमा आँखा उपचार इकाईको उद्घाटन गरिएको छ।
तिलगङ्गा आँखा प्रतिष्ठान तथा गुड भिजन नेपाल को सहयोगमा सञ्चालनमा आएको उक्त आँखा उपचार केन्द्रबाट मरिण गाउँपालिका सहित हरिहरपुरगढी गाउँपालिका, कमलामाई नगरपालिका, घ्याङ्लेख गाउँपालिका लगायत आसपासका पालिकाका नागरिकहरूले सहज रूपमा सेवा लिन सक्ने विश्वास गरिएको छ।
उक्त उपचार केन्द्रको उद्घाटन समारोह गाउँपालिका अध्यक्ष विमर्श मोक्तानको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व मन्त्री एवं वाग्मती प्रदेशका सांसद गङ्गा नारायण श्रेष्ठको उपस्थिति रहेको थियो।
साथै गाउँपालिका उपाध्यक्ष विमला माझी, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, वडाध्यक्षहरू, कार्यपालिका सदस्यज्यूहरू, हरि कार्की, प्रतिभा देवकोटा लगायत स्वास्थ्यकर्मी, पत्रकार, नागरिक र सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अस्पतालमा आँखा जाँचको सेवा सुरुभए पछि त्यहाँका नागरिक उपचारको लागि माडीबजार सिन्धुली, सर्लाही, हेटौंडा , काठमाडौं जानु नपर्ने विश्वास रहेको पालिकाले जनाएको छ । साथै चैत्र १४ र १५ गते २ सय २० जनाको आँखाको अप्रेशन गरिने पनि पालिकाले जनाएको छ । 

