म्याग्दी,रासस । यहाँको मालिका गाउँपालिका–५ देवीस्थानकी अस्मिता सिउथानी कपडाको डिजाइन र सिलाइकटाइसम्बन्धी सीप सिकेर आत्मनिर्भर बन्नुभएको छ । उहाँले बेनीको सङ्गमचोकमा सञ्चालन गरेको अस्मिता टेलरिङ सेन्टरमा आफ्नै डिजाइनमा झोला तयार पार्नुका साथै सिलाइकटाइसम्बन्धी काम गर्दै आउनुभएको छ ।
ग्राहकको मागअनुसार विभिन्न प्रकारका झोला, कुर्ता सुरुवाल, साडी र ब्लाउज तयार पार्न थालेपछि सिउथानीको व्यवसाय फस्टाएको छ । उहाँले फुर्सदको समय सदुपयोग गर्न सिकेको सिलाइकटाइसम्बन्धी व्यवसायम फस्टाउन सामाजिक सञ्जालले निकै सघाउ पुगेको उहाँले बताउनुभयो । “युट्युव हेरेर झोला र लेडिज कपडाको डिजाइन गर्न सकेको र थालेकी हुँ” सिउथानीले भन्नुभयो,“ग्राहकको रोजाइअनुसार कपडा र झोला तयार पार्ने र सामाजिक सञ्जाल ‘फेसबुक र टिकटक’ बाटै बजारीकरण गर्दै आएकी छु ।”
काठमाडौं, पोखराबाट कपडा ल्याएर उहाँले महिला, विद्यार्थी र पदयात्रीलाई लक्षित गरी झोला तयार पार्नुहुन्छ । झोलालाई आकारअनुसार प्रतिगोटा रु एक हजार २०० देखि रु एक हजार ७०० सम्ममा बिक्री गरिरहेको सिउथानी जानकारी दिनुभयो । “बेनी बजारसहित म्याग्दीका ग्रामीण क्षेत्रका साथै पोखरा, काठमाडौं र विदेश जानेहरूले पनि झोला मन पराउने गरेका छन्”, उहाँले सुनाउनुभयो,“विसं २०७४ मा सिलाइकटाइ व्यवसाय सुरु गरेकी थिए ।
पछिल्ला केही वर्षयता डिजाइनमा लागिरहेकी छु ।” यसबाट ‘सिजन’मा मासिक एक लाख ५० हजारदेखि दुई लाखसम्म आम्दानी हुने गरेको छ । “मागअनुसार झोला र कपडा बनाउन थालेपछि बजारमा प्रतिस्पर्धा कम भएको छ । पछिल्लो समय त काम छैन भनेर बस्नुपरेको छैन”, सिउथानीले भन्नुभयो,“दैनिक कारोबार त भइरहेकै छ । सीप सिक्न चाहनेलाई पनि सिकाइरहेकी छु । यसले पैसा र सन्तुष्टि दुवै मिलिरहेको छ ।”
उहाँलाई एकीकृत सेवा कार्यालय र प्रदेश सरकारले व्यवसाय सञ्चालनका लागि औजार खरिदमा सहयोग गरेको छ । यसले काम गर्न सहज र थप हौसला मिलेको सिउथानीले बताउनुभयो ।