काठमाडौं । ‘४२ औँ राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०८३’ आज देखि सञ्चालन हुने भएको छ । जेठ २ गते सम्म सञ्चालन हुने प्रतियोगिता दशरथ रङ्गशालास्थित कभर्डहल, त्रिपुरेश्वर काठमाडौंमा हुने आयोजक नेपाल ब्याडमिन्टन सङ्घले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन आज दिउँसो २ बजे खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहेताले गर्नुहुने छ ।
४२ औँ संस्करणमा सातै प्रदेश तथा नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी तीन विभागीय टोलीबाट छनोट भएका १२० उत्कृष्ट खेलाडीहरूको सहभागिता रहने सङ्घले जनाएको छ ।
प्रतियोगिताको प्रतिस्पर्धात्मक स्तर उच्च बनाउने तथा छनोट प्रक्रियालाई व्यवस्थित र पारदर्शी राख्ने उद्देश्यले प्रत्येक प्रदेश तथा विभागीय टोलीका लागि ७ पुरुष र ५ महिला गरी कुल १२ खेलाडीको कोटा निर्धारण गरिएको छ ।
प्रतियोगिता पुरुष एकल, महिला एकल, पुरुष डबल्स, महिला डबल्स तथा मिक्स्ड डबल्स गरी पाँच विधामा सञ्चालन हुनेछ ।
प्रत्येक टोलीमा एक प्रशिक्षक र एक व्यवस्थापक अनिवार्य गरिएको छ । प्रतियोगिताको सफल सञ्चालनका लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप प्राविधिक व्यवस्थापन, खेलाडी सुरक्षा, प्रतियोगिता सञ्चालन प्रणाली तथा मिडिया प्रवर्द्धनमा विशेष ध्यान दिइएको सङ्घले जनाएको छ ।
प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीको विशेष सहकार्य रहेको छ ।
प्रतियोगिता अवधिभर करिव दश हजार भन्दा बढी दर्शकको प्रत्यक्ष उपस्थिति रहने सङ्घको अपेक्षा रहेको छ ।
प्रतिभावान् खेलाडीको पहिचान र विकासमा योगदान पुग्ने विश्वासका साथ प्रतियोगिता आयोजना गरिएको सङ्घले जनाएको छ ।