सिन्धुली । मरिण गाउँपालिकालाई आज २०८३– ०२– ०२ गते आ. व. २०८२– ०८३ का लागि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । गाउँपालिकामा आज एक विशेष समारोहको आयोजना गरी स्वास्थ्य शाखा प्रमुखको प्रस्ताव र गाउँपालिका उपाध्यक्ष विमला माझीको समर्थनमा गाउँपालिका अध्यक्ष एवं गाउँपालिका खोप समन्वय समितिका संयोजक विमर्श मोक्तानले घोषणा गर्नुभएको हो ।
गाउँपालिकाले पूर्णखोप सुनिश्चितता एवं दिगोपन घोषणाको लागि सम्पूर्ण प्रकृया पूरा गरेर जिल्ला खोप समन्वय समितिमा अनुरोध गरेपछि समन्वय समितिको निर्णय अनुसार आज घोषणा भएको हो ।
कार्यक्रममा जिल्ला खोप समन्वय समितिका तर्फबाट समितिका सदस्य सचिव एवं जनस्वास्थ्य कार्यालयका प्रमुख विमल पटेलले गाउँपालिका अध्यक्ष एवं खोप समन्वय समितिका संयोजक मोक्तानलाई पूर्ण खोप सुनिश्चितता एवं दिगोपनाको प्रमाणपत्र प्रदान गर्नुभएको छ ।
१६– २३ महिनाका सम्पूर्ण बालबालिकाले उमेरगत लगाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चित भए पश्चात वार्षिक रुपमा यस किसिमको कार्यक्रम हुने गर्दछ ।
मरिणले २०७३– ०७४ साल देखि वार्षिक रुपमा यस्तो कार्यक्रम गर्दै आइरहेको छ । कार्यक्रममा सबै वडा स्वास्थ्य संस्था एवं वडा खोप समन्वय समितिलाई वडा पूर्णखोप सुनिश्चितताको प्रमाणपत्र सहित सम्मान गरिएको छ । साथै घोषणालाई सहजीकरण गर्ने जिल्ला खोप समन्वय समितिलाई समेत प्रशंसापत्र प्रदान गरिएको छ ।
कार्यक्रममा इलाका प्रहरी प्रमुख अशोक कुमार यादव वडाध्यक्षरु , कार्यपालिका सदस्यहरु , विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरु, स्वास्थ्य संस्था प्रमुख एवं स्वास्थ्यकर्मी , गाउँपालिकाका शाखा प्रमुखहरु , महिला स्वास्थ्य स्वयं सेविका लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।